दानबहादुर मल्ल जस्तै बन्न खाेज्दा डीआईजी पोखरेल विवादमा परे

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा भिडियो सार्वजनिक गरेपछि चितवनका तत्कालीन एसपी दानबहादुर मल्ल विवादमा तानिए । बलियो प्रमाण र अनुसन्धानकै क्रममा रहेको उक्त भिडियोलाई प्रहरीले सार्वजनिक गर्दा अदालतले समेत प्रहरीको काम, कारवाहीमाथि प्रश्न उठाइसकेको छ ।

पुडासैनी प्रकरणमा मुछिएका टिभी जर्नलिष्ट रवि लामिछानेलाई अदालतले सफाई दिने क्रममा उक्त भिडियो अगाडि नै सार्वजनिक भएको विषयमा प्रश्न उठाएको थियो । मुद्दाको किनारा नलगाउँदै अनुसन्धानकै क्रममा रहेको तथ्य सार्वजनिक गर्नुलाई प्रहरीको गम्भीर गल्ती र लापरवाही मानिन्छ । फेरि पनि प्रहरीले अहिले त्यस्तै गल्ती दोहोर्‍याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै प्रहरीलाई गाली गर्ने गायिका आस्था राउतको भिडियो सार्वजनिक गरेर प्रहरीले अर्को गल्ती गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी विश्वराज पोखरेलले गोप्य रहनुपर्ने उक्त भिडियो सार्वजनिक गरेर मिडियाबाजी गरेपछि प्रहरीको अनुसन्धानमाथि नै प्रश्न चिन्ह खडा भएको छ । राउतले प्रहरी कर्मचारी रमिला श्रेष्ठमाथि अभद्र व्यवहार गरेको घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीका लागि विमानस्थल प्रहरीले महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा उजुरीसहितको प्रतिवेदन पठाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एसएसपी रामकृपाल साहले अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भिडियो फूटेजसहित प्रतिवेदन रानीपोखरीमा बुझाएका थिए । त्यसलगत्तै प्रहरीले महिला कर्मचारीले दिएको उजुरीका आधारमा राउतबिरुद्द पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, सस्तो प्रचारका लागि डिआईजी पोखरेलले अनुसन्धानमा अति गोप्य रहने उक्त भिडियो मिडियामार्फत सार्वजनिक गरेर अनुसन्धानलाई नै प्रभावित बनाउन खोजेको देखिन्छ । अब प्रहरीले राउतलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्धा चलाउनेछ भने राउत दोषी वा निर्दोष भन्ने कुरा जिल्ला प्रशासन कार्यालयमा उपस्थिति गराएपछि नै थाहा होला ।

प्रहरीले सार्बजनिक गरेको भिडियोमा राउतले महिला प्रहरीसँग झगडा गरेको देखिएको छ । भिडियो सार्वजनिक भएसँगै राउतविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भयो । पहिले राउतले प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गर्दा प्रहरीविरुद्ध गालीको वर्षा लागेको थियो । तर, अहिले सामाजिक सञ्जालमा राउत र प्रहरीकाविरुद्ध बराबर गाली ओहिरिन थालेपछि प्रहरी पनि लचक बन्ने संकेत देखिएको छ ।

यसअघि सिसिटिभि फुटेजको भिडियो सार्वजनिक गरेपछि डीआईजी पोखरेलले ठूलै अपराधीलाई पक्राउ गर्न लागेको जस्तो ढंगले राउतविरुद्ध समाचार मिडियाहरूमा प्रवाह गरेका थिए । यद्यपि राउतले माफि पनि मागिसकेकी छिन् । राउतको समाचारलाई ठूलै माछा मारेको जस्तो चर्चामा ल्याउने डीआईजी पोखरेल यसअघि काठमाडौं परिसरको प्रमुख हुँदा भक्तपुरका एक बालक अपहरण काण्डमा अपहरणकारीलाई एसएमएस गरेर विवादमा तानिएका थिए ।

अर्कोतिर प्रहरीमा सिनियर एसएसपीहरुलाई पछाडि पार्दै राजनीतिक दबाबमा डीआईजी बनेर मेट्रोमा आएका पोखरेलले प्रहरी जवानहरूसँग सँगै बसेर हप्तामा एक पटक मेसमा खाना खानु पर्ने नियम बसालेका छन् । आज वर्ष झण्डै १० वर्ष अगाडि प्रहरीले पाउने रासनमा घोटला हुने, हाकिमले ठेकेदारसँग मिलेर कमिसन खाने जस्ता प्रवित्तिले गर्दा जवानहरूले राम्रो र मीठो खान पाउँदैन थिए ।

तर, विगत केही वर्षदेखि प्रहरीमा रासन वापतको रकम सम्मन्धित प्रहरीकै बैंक खातामा हाल्ने नियम बसालिएको छ । जसका कारण मेसमा नै बसेर एउटै खाना खानु पर्छ भन्ने छैन । ‘प्रहरी जवानले के खाने भन्ने कुरा उसको अधिकारको कुरा हो । डीआईजी पोखरेलले सिस्टममा बसिसकेको प्रहरी संगठनमा असमान व्यवहार छ भनेर अहिले विवादमा ल्याउने काम गरिरहेका छन्’, एक डीआईजी नै बताउँछन् ।

यसरी सस्तो प्रचारका लागि कहिले मेसमा सँगै बसेर खाएको फोटोहरू सार्वजनिक गर्ने त कहिले पत्रकारहरूलाई नै अगाडि राखेर मातहतका प्रहरीलाई गाली गर्ने पोखरेलको प्रवृत्तिका कारण तल्लो दर्जाका प्रहरी अधिकारीहरू हैरान बनेको स्रोत बताउँछ । मेट्रोको प्रमुख भए पनि बृत्तका डिएसपीहरूलाई बेलुका कार्यालयमा बोलाएर ब्रिफिङ गर्ने पोखरेलले महानगरीय प्रहरी परिसर काठामाडौंको अधिकार समेत हातमा लिन खोजेको एक डिएसपी नै बताउँछन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 23, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया