ओली सरकार ५ वर्ष जाँदैन, मध्यावधी चुनाव हुन्छः रामहरि खतिवडा
गोरखा । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकार नाता र दातामा लागेको बताएका छन् ।
नेपाल प्रेस युनियन गोरखा शाखाले सोमबार गोरखा बजारमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्री खड्गप्रसाद ओली नाता र दाताहरूलाई फलिफाप गराउन लागेको आरोप लगाए ।
‘बालुवाटारबाट सिंहदरबार जान नसक्ने प्रधानमन्त्री छन्’, उनले भने, ‘उहाँको वरपर बस्नेहरूले देश चलाएका छन्, सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको छ ।’
खतिवडाले संविधानले नचिनेका व्यक्तिहरूले देशमा शासन गरिरहेको बताएका छन् ।
कम्युनिस्ट सरकारसँग जनताले गरेको ठूलो अपेक्षा पूरा हुन नसकेको बताउँदै नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘यतीलाई जग्गा दिने, निर्मला पन्तका दोषी पत्ता नलगाउने, ३३ किलो सुन फेला नपार्ने, सीमा मिचिँदा सरकार मौन बसेको जस्ता मुद्धले सरकारको काम छर्लङ भएको छ ।’
कम्युनिष्ट सरकारको त्रासका कारण नेपालमा विदेशीले लगानी गर्न डराईरहेको उनले बताए ।
कम्युनिस्ट र अर्को फरक बिचार भएका मानिसलाई प्रतिशोध साँधेर सरकारले ब्यवाहार गरेको बताउँदै खतिवडाले जो कोही भएपनि कानून बरावर लाग्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीभित्र दुईवटा पाईलटले आफ्नो मान्छे भर्ती गर्न खोज्दा सभामुख चयन गर्न चार महिना लागेको उनले आरोप लगाएका छन् ।
संसदको अधिकार हनन् गरेर लामो समय सभामुख रिक्त राख्नु नाता कि दातालाई बनाउने भन्ने विषय नै रहेको दावी खतिवडाले गरेका छन् ।
नेकपाको बिभाजन पाँच वर्षभित्रै हुने ठोकुवा गर्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘यो सरकार ५ वर्ष जाने छाँट छैन, बीचमै मध्यावधी चुनाव हुनेछ ।’
नाता र दाता बनाउने होडबाजीमा प्रधानन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागेको भन्दै खतिवडाले बताए ।
‘सिंहदरबार जान नसक्ने प्रधानमन्त्री ओलीजी हुनुहुन्छ । प्रचण्डले आफू निकट र परिवारहरूलाई मात्रै अवसर दिनुहुन्छ । नाता र दाताहरूलाई अबसर दिन खोज्दा यो सरकार आफै ढल्छ’, उनले भने, ‘प्रधानमन्त्री र पार्टी नेतृत्वमा को ? जाने भन्ने विषयमा झगडा भई यो सरकार ढल्छ । नेकपाकै कारण मध्यावधी निर्वाचन हुने छाँटकाँट देखेको छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया