मानेभञ्ज्याङमा राई परिवारले दियो कांग्रेसलाई बस्न निःशुल्क घर
मानेभञ्ज्याङ । नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति स्व.प्रेमराज राईका छोरा एवम् कांग्रेसका युवा नेता राजबाबु किरातीले कांग्रेसको पार्टी कार्यालय राख्नका लागि आफ्नो घर निःशुल्क रुपमा उपलब्ध गराएका छन् ।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर १ मा रहेको आफ्नो घरलाई युवा नेता किरातीले नेपाली कांग्रेसको कार्यालय राख्न एउटा घर निःशुल्क दिएका हुन् ।
नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका राईले आफ्नो घर नेपाली कांग्रेसलाई निःशुल्क रुपमा पार्टी कार्यालय सञ्चालन गर्न दिएपछि मानेभञ्ज्याङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा उत्साह थपिएको छ ।
किरातीले उपब्ध गराएको घरमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टी कार्यालयको विधिवत रुपमा सञ्चालनमा ल्याइदिएका हुन् ।
खतिवडाले भने, ‘स्व.बलबहादुर राई, स्व.प्रेमराज राईको नेपाली कांग्रेसमा ठूलो योगदान छ । उहाँहरूबीना ओखलढुंगामा नेपाली कांग्रेस अपुरो छ । राजबाबु किरातीले आफ्नो घर कांग्रेसलाई पार्टी कार्यालय सञ्चालन गर्न दिएर अर्को गुन लगाउनु भएको छ ।’
खतिवडाले राई परिवारले कांग्रेसप्रति देखाएको मायाप्रेमको नेपाली कांग्रेस ओखलढुंगाले उच्च सम्मान गर्ने बताए ।
नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले पनि राई परिवारबाट कांग्रेसप्रति देखाएकाे मायाकाे सह्राना गरे । उनले नयाँ पार्टी कार्यालयबाट संगठन गर्न साथीहरूलाई सजिलाे हुने बताए ।
युवा नेता किराती नेपाली कांग्रेसका नेता स्व.बलबहादुर राईका नाती हुन् । नेपाली कांग्रेसको राजनीतिमा ठूलो प्रभाव राख्ने राई परिवारलाई ओखलढुंगामा मात्र नभई देशैभरिका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सम्मानका साथ नाम लिने गर्छन् ।
पूर्वमन्त्री समेत भएका स्व.बलबहादुर राईले ओखलढुंगा जिल्लाको विकासमा ठूलो योगदान गरेका थिए । उनका छोरा स्व.प्रेमराज राईले पनि नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सभापति भएर कांग्रेसको संगठन र जिल्लाको विकासमा योगदान पुर्याएका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया