काम गर्ने हो भने अबसर गाउँमै छः कांग्रेस नेता खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको ‘सोमबारे हाटबजार’ले जिल्लाका किसानहरूको जीवनस्तर उकास्न सानो भएपनि भूमिका खेलेको भन्दै खुसी व्यक्त गरेका छन् ।

ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नम्बर ३ फुयल गाउँमा आयोजित सोमबारे हटिया बजारको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै खतिवडाले मोलुङ गाउँपालिकामा हुने उत्पादनको बिक्री बितरणमा सोमबारे हाटबजारले ठूलो भूमिका खेल्ने बताए ।

‘मिहेनत गर्ने हो भने युवाहरू विदेशिनुपर्दैन । गाउँकै उत्पानलाई सोमबारे हाटबजारमा बिक्री गरेर राम्रो आयआर्जन गर्न सकिन्छ’, उनले भने, ‘म यहिँ ठाउँमा हुर्केका हुनाले गाउँको माया अधिक लाग्छ ।’

‘श्रीचौरको लाम्चो आलुलाई रामपुर र हर्कपुरको मन्सुली धानसंगको स्वाद थाहा पाउन या धानवेसीको लाफे सागको गन्द्रुक र प्राप्चा देउरालीको कोदोको ढिडोको स्वाद थाहा पाउनलाई आफ्नै गाउँमा आउनुपर्छ’, उनले भनेका छन् ।

‘लामीडाँडाको सुन्तला र फुयाल गाउँको घिउ, साग र उखुदेखि गाउँ घरमा बनाएको विविध सामाग्रीहरू किनमेल र बेचबिखन गर्न सोमबारे हाटबजारले सार्थक दिलाउनेछ’, उनले भने, ‘सम्पूर्ण मोलुङबासीलाई शुभकामना छ ।’

मोलुङमा सोमबारे हाटबजार सञ्चालन भएपछि गाउँका जनताले उत्पादन गर्ने बस्तुलाई बिक्री गरेर आर्थिक आर्जन गर्न सजिलो हुने स्थानीयको विश्वास छ ।

Published : Monday, 2020 January 13, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया