कांग्रेसमा झगडा होइन अग्रजले देखाएको असल बाटो पच्छ्याउनुपर्छः खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा कांग्रेसका पूर्वसभापति स्वर्गीय प्रेमराज राईको बाटोमा हिँड्न सके देश र जनताका लागि धेरै राम्रो हुने बताएका छन् ।

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिले स्व.प्रेमराज राईको १५औँ दिनको स्मृतिमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै खतिवडाले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति स्व.प्रेमराज राईले देखाएको बाटोलाई लोकतन्त्रप्रति आस्था राख्नेहरूले मार्ग पच्छ्याउनुपर्ने बताए ।

‘स्व.प्रेमराज राई राष्ट्रवादी, प्रजातान्त्रवादी र जनसेवी नेता हुनुहुन्थ्यो । उहाँमा कहिले आफ्नो बुवा मन्त्री मैले यो बेला अकुत सम्पत्ति जम्मा गर्नुपर्छ भन्ने मनमा पलाएन’, खतिवडाले भने, ‘उहाँ सादा र निष्ठावान व्यक्तित्वा हुनुहुन्थ्यो । उहाँबाट हामीले सिक्न धेरै बाँकी छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले स्व.प्रेमराज राईलाई निधन हुनुभन्दा दुई–तीन हप्ता अगाडि ललितपुरस्थित निवासमा पुगेर भेट गरेको समेत स्मरण गरेका थिए । उनले स्व.प्रेमराज राईले देखाएको असल बाटो पच्छ्याएमा नेपाली कांग्रेसभित्रको घरझगडा आफै समाप्त भएर जाने बताए ।

खतिवडाले अहिलेको आवश्यकता भनेको नेपाली कांग्रेसहितका सबै राजनीतिक पार्टीहरू मिलेर एकताको बाटोमा हिँड्नु पर्ने बताए । ‘हामीले देखिरहेका छौँ कम्युनिस्ट पार्टीभित्र नै एउटा सभामुख छान्न नसकेर हरेक बिहान चिया र टोस्ट, दिउँसो कफी र बेलुका खान खाएर दिन बिताइरहेको अबस्था छ’, उनले भने, ‘सभामुखको विषय छिटो समाधान होस् । कुनै एउटा पार्टीको कारणले देशलाई अनिर्णयाको बन्दी गराउनु हुन्न ।’

नेपाली कांग्रेसभित्रको विवादका विषयमा युवा नेता खतिवडाले चिन्ता व्यक्त गर्दै समाधानका लागि शीर्ष नेतृत्व गम्भीर हुनुपर्ने बतँए । ‘हाम्रो पार्टीमा पनि शेरबहादुर देउबा पक्ष र रामचन्द्र पौडेल पक्ष भन्नेछ । यसको पनि अन्त्य हुनुपर्छ’, उनले भने, ‘मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो भने तेरो र मेरो होइन, हाम्रो र राम्रो मान्छेलाई छान्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले अमेरिकन आर्थिक सहयोग एमसीसी लिने कि नलिने कम्युनिस्ट सरकार आफैले फैसला गर्नुपर्ने खतिवडाले बताए ।
‘म चाहिँ भन्छु नेपालको सार्वभौम एकता, हकअधिकारमाथि दखल नपुग्ने गरी जुनसुकै देशले नेपाललाई सहयोग गर्न खोज्यो भने देशको कानूनभित्र रहेर सहयोग लिनुपर्छ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने ।

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले स्व.प्रेमराज राईको बाटोमा हिँड्न ओखलढुंगा कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरे ।

उनले स्व.प्रेमराज राईले ओखलढुंगाको विकास र कांग्रेसको संगठनमा गरेको योगदानलाई सधैँ कांग्रेसले स्मरण गर्ने बताए । ‘स्व.प्रेमराज राईले नेपाली कांग्रेसको नेतृत्वमा रहँदा धेरै उच्च कार्य गर्नुभएको थियो’, सभापति सुनुवारले भने, ‘अब हामीले उहाँको योगदानको कदर गर्दै त्यो बाटोमा हिँड्ने प्रयास गर्नुपर्छ । अनि मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ ।’

कार्यक्रमका वक्ताहरूले स्व.प्रेमराज राईको योगदानको कदर गर्नुपर्ने बेला आएको बताए । उनीहरूले स्व.प्रेमराज राईलाई स्मरण गर्नुभन्दा पनि उहाँको बाटोलाई कांग्रेसका सच्चा कार्यकर्ताहरूले अनुसरण गर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा कार्यकर्ताका साथै स्व.प्रेमराज राईका आफन्तहरूको समते सहभागिता रहेको थियो ।

Published : Monday, 2020 January 13, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया