कांग्रेस सांसदहरूले दिए किसानलाई साथ, कम्युनिस्ट सरकारको आलोचना

काठमाडौं । उखु किसानको आन्दोलनमा कम्युनिस्ट सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएका छन् ।

सरकारले बेवास्ता गरिरहे उखु किसानको आन्दोलनमा सहभागी हुने चेतावनी समेत उनीहरुले दिए ।

राष्ट्रिसभाको बुधबारको बैठकमा बोल्दै उनीहरूले सरकार गरिब किसानको हो कि होइन ? भनेर प्रश्न गरे ।

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सरकार उखु किसानको समस्याप्रति किन मौन बसेको भन्दै प्रश्न गरिन् ।

‘सरकार कसको हो ? गरिब किसानको हो की होइन ? श्रमिकहरूको हो की होइन ?’, देवकोटाले भनिन्, ‘तत्काल सरकारले उखु किसानको भुक्तानी दिलाएर उनीहरूका माग पूरा गरोस् ।’

देवकोटाले विप्लव समूहसँग तत्काल वार्ता गर्न र सीमा विवाद समाधान गर्न सुझाव समेत दिइन् ।

सांसद प्रकाश पन्थले उखु किसानको समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् ।

सरकारको नीति किसानमारा देखिएको टिप्पणी गर्दै उनले भने, ‘कहिले दूध पोख्नुपरेको छ, कहिले तरकारी बारीमा डोजर लगाउनु परेको छ । उखु किसानहरुले भुक्तानी पाउन सकेका छैनन् । उखु किसानहरुको समर्थनमा माइतीघर जान नपरोस् ।’

वास्तविक किसानले पाउने अनुदान विचौलियाले खाइदिएको बताउँदै सांसद पन्थले भने, ‘उद्योगहरूले व्याजसहित भुक्तानी गरुन् । व्यावसायिक समस्याहरुको हल गर्नतर्फ सरकार जावस् ।’

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना, सीमा विवाद र नेपाल ट्रष्टको जग्गा सस्तो मूल्यमा भाडामा दिइएको विषयमा सरकारले सदनलाई जवाफ दिनुपर्ने पनि उनले बताए ।

सांसद शेरबहादुर कुँवरले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा शीर्ष नेता र मन्त्रीहरुको फरक–फरक धारणा आइरहेको भन्दै आधिकारिक धारणा ल्याउन माग गरेका छन् ।

‘शीर्ष नेताहरूले एमसीसी इण्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भने पारित हुँदैन भन्नुहुन्छ, मन्त्रीले पारित हुन्छ–हुन्छ भन्नुहुन्छ । त्यसलाई स्वीकार गर्ने की नगर्ने भन्ने सरकारले स्पष्ट भन्नुपर्छ ।’

सांसद रमेशप्रसाद यादवले उखु किसानहरुलाई भुक्तानी दिलाउन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तत्काल सुरु गर्न माग गरेका छन् ।

Published : Wednesday, 2020 January 1, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया