पौडेल समूहले बोहराटारमा देउवासंग खोज्यो भाग, विभाग थप्न नदिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका केन्द्रीय सदस्यहरूको गुटको भेलाले सभापति शेरबहादुर देउवाद्वारा विभागको संख्या बढाउन गरिएको प्रस्तावलाई अस्वीकार गर्ने निस्कर्ष निकालेका छन् ।

काठमाडौंको बोहराटारस्थित नेता पौडेलको निवासमा बुधबार बसेको गुटको भेलालले देउवालाई असहयोग गर्ने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सभापति देउवाबाट विधान विपरित भएका गतिविधि र कार्यहरूलाई साथ दिन नसकिने निर्णय गरेको बताए ।

पौडेल समूहले सभापति देउवाले सहमतिबिना पार्टीलाई अगाडि बढाएको आरोप लगाएको छ ।

सहमतिबिना विभागको संख्या बढाउने प्रस्तावलाई पनि पौडेल समूहले अस्वीकार गर्ने निर्णय गरेको हो । पौडेल समूहको निर्णयले सभापति देउवालाई तनाब बढाइदिएको छ ।

सभापति देउवाले विभाग संख्या २८ बाट ४१ पुर्‍याएपछि पौडेल समूह चिढिएको छ । भेलामा छुट्टै समूहको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला समेत सहभागी रहेको केन्द्रीय सदस्य ह्रदयराम थामीले जानकारी दिएका छन् ।

नेपाल तरुण दल र नेविसंघमध्ये एउटाको संयोजक पाउनुपर्ने पौडेल समूहले भेलामा माग गरेको छ ।

पौडेल समूहको वार्ता समितिमा प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र ह्रदयराम थानी छन् ।

पौडेल समूहको भेलाले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका यथाशाक्य ल्याउनका लागि दबाब दिन वार्ता समितिलाई निर्देशन दिएको छ ।

बोहराटारको गोप्य भेलामा पौडेल समूहका करीव ३० जना केन्द्रीय सदस्यको सहभागिता थियो ।

पौडेल समूहले समय माग गरेका कारण बुधबारको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Published : Wednesday, 2019 December 18, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया