रामचन्द्र पौडेल समूहले नेविसंघ र तरुण दल ‘फुटाउने’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंह लगायतका नेताहरू सम्मिलित समूहले नेपाल विद्यार्थी संघ(नेविसंघ) र नेपाल तरुण दललाई फुटाउने चेतावनी दिएको छ ।

काठमाडौंको मध्यबानेश्वरमा मंगलबार बसेको नेविसंघका नेता र नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू सम्मिलित गुटको भेलाले नेविसंघको नेतृत्वमा दाबी गरेको हो । नेविसंघका नेताहरूका अनुसार पौडेल समूहले दुई वटा सर्त अगाडि सारेका छन् ।

नेविसंघको नेतृत्व दिनुपर्ने या ४६ प्रतिशत भाग दिनुपर्ने निर्णय गरेको एक नेताले बताए । यी दुईमध्ये एउटा पनि माग पूरा नभए समानान्तर कार्यसमिति (फुटाउने) बनाउने निर्णय भएको छ ।

नेविसंघको भेलामा नेपाली केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, डा.चन्द्र भण्डारी, बद्री पाण्डे, कल्याण गुरुङ, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यलगायतको उपस्थिति रहेको थियो ।

उता, महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसेको तरुण दलका नेताहरूको भेलाले पनि नेतृत्वमा दाबी गरेको छ । नेतृत्व नदिए तरुण दल फुटाउने चेतावनी दिएको छ ।

तरुण दलको भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, तरुण दल काठमाडौंका अध्यक्ष कृष्णध्वज खड्का, कारबाहीमा परेका भुपेन्द्रजंग शाही लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले पौडेल समूहलाई भागबण्डा दिए पनि नेविसंघ र तरुण दलको नेतृत्व दिने पक्षमा छैन ।

नेपाली कांग्रेसको भ्रातृ संस्थाहरूको संख्या बढाउने विरोध गर्दै आएको पौडेल समूहले १४औँ महाधिवेशनको कार्यतालिका माग गरेर केन्द्रीय कार्यसमितिको बैठक लगातार बहिस्कार गर्दै आएको छ ।

Published : Tuesday, 2019 December 17, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया