छायाँ श्रम मन्त्रीसँग रिसाए कांग्रेस निकटका व्यवसायीहरू

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलासँग कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम रिसाएको छ ।

नेपाली कांग्रेसको तर्फबाट श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय (छायाँ श्रम मन्त्री)को गतिविधि र काम हेर्ने जिम्मेवारी पाएकी केन्द्रीय सदस्य डा.संग्रौलाले फोरमसँग परामर्श नै नगरेर श्रममन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाएको भन्दै आक्रोश व्यक्त गरेको हो ।

कांग्रेस निकटका व्यवसायीहरूले आफूहरूसँग परामर्श गरेर श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको भए अझै प्रभावकारी हुने प्रतिक्रिया दिएका छन् ।

फोरमका पूर्वअध्यक्ष विमल ढकालले पार्टीको जिम्मेवार व्यक्तिहरूले वैदेशिक रोजगारीमा लागेका पार्टी निकटका व्यवसायीहरूसँग सरसल्लाह नै नगरी श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएकोमा आपत्ति जनाए ।

‘नेपाली कांग्रेसले वैदेशिक रोजगारीका विषयमा गतिविधि गर्दा हामी व्यवसायीहरूसँग परामर्श गर्नुपर्छ कि पर्दैन ?’, प्रश्न गर्दै ढकालले भने, ‘वैदेशिक रोजगारीमा के–के समस्या छ ? हामीलाई थाहा छ । हामीसँग पनि सल्लाह गर्नुपर्छ ।’ ढकालले नेपाली कांग्रेस निकटका व्यवसायीहरूसंग परामर्श गरेको भए झन् प्रभाकारी हुने र पार्टीलाई पनि सहयोग मिल्ने बताए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.संग्रौलाले मंगलबार श्रममन्त्री यादवलाई भेटेर विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएपछि कांग्रेस निकटका व्यवसायीहरू आक्रोशित बनेका हुन् ।

संयोग नै मान्नुपर्छ डा.संग्रौलाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे, फोरमका पूर्वअध्यक्ष विमल ढकाल, संघका महासचिव तारानाथ अर्याल, संघकै महासचिव सुजितकुमार श्रेष्ठ, नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेको कोठामा थिए ।

नेपाली कांग्रेस निकटका व्यवसायीहरूले हल्का रुपमा कुनै पनि निर्णय र कदम नउठाउन संग्रौलालाई चेतावनी दिएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघमा यस पटक नेपाली कांग्रेस निकटका व्यवासयीहरूले जितेका छन् ।

यसअघिको नेतृत्वमा तत्कालीन एमालेले जितेको थियो । तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टको गलत निर्णय र हर्कतले गर्दा संघमा यस पटक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समूह पराजित भएको थियो ।

‘आफ्नै पार्टीको शुभेछुक संस्थासंग एकदिन पनि छलफल नगर्ने । वैदेशिक रोजगार व्यवसाय संघका पूर्व अध्यक्षहरूसंग कुनै परामर्श नगर्ने । हावाका भरमा तथ्याङ्क पेश गरेको देख्दा लाज लागेर आयो’, संघका एक जना पदाधिकारीले प्रतिक्रिया दिँदै भने, ‘यो तरिकाले पार्टीमा प्रतिपक्षको भूमिका कसरी अघि बढला ?’

‘कामदार पठाउने देश नेपाल मात्रै हो र ? भारत श्रीलंका, बंलादेश, पाकिस्तान सबै ठाउँबाट जान्छन नि ?’, फोरमका पूर्वअध्यक्ष ढकालले भने, ‘हचुवाको भरमा नेपाली कांग्रेस जस्तो पार्टीका नेता र सांसदबाटै कुरै नबुझेर गरिने कार्यले व्यवसायी र रोजगारीमा जाने कामजारलाई ठूलो असर पर्छ ।’

Published : Tuesday, 2019 December 17, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया