अख्तियारका अधिकारीहरूले भारतमा प्रशिक्षण लिँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको पहिलो ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा ठगी, घूसखोरी र भ्रष्टाचार निवारण विषयमा ६ दिने प्रशिक्षण शुरु गरेका छन् ।

प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जनाको दोस्रो ब्याचले पुस २६ गतेदेखि माघ २ गतेसम्म सोही प्रशिक्षण लिने कार्यक्रम निर्धारण गरिएको छ ।

नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो ।

नेपालमा भ्रष्टाचारका गतिविधिहरूमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ ।

मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरूमा यो कोर्ष केन्द्रित छ ।

सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरूको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरू सिक्नलाई मद्दत गर्नेछ ।

अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरूको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउनेछ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ ।

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।

Published : Tuesday, 2019 December 17, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया