कांग्रेसको विवाद सडकमा होइन घरभित्र मिलाऔँः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरूले देखाएको व्यवहारबाट युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले चिन्ता जनाएका छन् ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले शुक्रबार बिहान ट्वीट गर्दै विवादलाई पार्टीभित्र मिलाउन सुझाव दिएका हुन् । घरभित्रको झगडालाई सडकमा नभई घरभित्रै मिलाउनुपर्ने उनको सुझाव छ ।

‘आफ्नो घरको फोहोर सडकमै फालेर हामीले अरुलाई सभ्यताको पाठ सिकाउन सक्दैनौं’, खतिवडाले भनेका छन्, ‘सबै नेपाली कांग्रेसका नेताहरूलाई यो ज्ञान होस् । विवाद सडकमा होइन घरमा समाधान गरौं ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागहरू बढाउन प्रस्ताव गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र नेता कृष्ण सिटौलाले विरोध गर्दै केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका छन् ।

वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनको कार्यतालिका ल्याउन पनि माग गरेका छन् ।

पार्टीभित्रको विवादलाई सडकसम्म ल्याएपछि केन्द्रीय नेताहरूलाई खतिवडाले पार्टीभित्रको समस्या र विवादलाई पार्टीभित्र मिलाएर अगाडि बढ्न सुझाव दिएका हुन् ।

Published : Friday, 2019 December 13, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया