कांग्रेस निकट युनियनका अध्यक्षले मागे क्षमा, महाधिवेशनकाे तयारीमा जुट्न आग्रह
काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले विविध कारणले संस्थाको महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै अध्यक्ष हैसियतले क्षमा मागेका छन् ।
अध्यक्ष सिग्देलले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उपनिर्वाचन लगायत विभिन्न कारणले समयमा युनियनको महाधिवेशन गर्न नसकेकोमा क्षमा मागेका हुन् ।
‘विविध कारणले समयमै महाधिवेशन सम्पन्न गर्न नसकिएकोमा केन्द्रीय समितिको तर्फबाट अध्यक्षका हैसियतले क्षमायाचना गर्दछु’, उनले भनेका छन्, ‘समयमै महाधिवेशन हुन नसकेको अवस्थाबाट संगठनप्रति समर्पित, चिन्ता, चासो र सरोकार राख्ने सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद दिँदै महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दछु ।’
‘संगठनको जीवन्तता र सुदृढीकरणका लागि हामीबीचको एकताको विकल्प नरहेको स्पष्ट पार्न चाहन्छु’, अध्यक्ष सिग्देलले भनेका छन् ।
‘लोकतन्त्रको प्रमुख आधार मध्येको एक आवधिक निर्वाचनको पक्षमा युनियन रहँदारहँदै पनि निर्धाति समयमै महाधिवेशन गर्न नसक्नु हाम्रो विवेकपूर्ण अपरिहार्य वाध्यता हो’, अध्यक्ष सिग्देलले विज्ञप्तिमा भनेका छन्, ‘यसबीचमा पटक–पटक महाधिवेशन हुन नसकेकोमा भइरहेका टिप्पणीप्रति हामी सचेत र गम्भिर छौँ ।’
‘यसै सन्दर्भमा यही मंसिर २८ र २९ गतेका लागि निर्धारित नवाैं महाधिवेशन तोकिएको सीमाभित्रै सम्पन्न गर्न राष्ट्रिय र अत्यन्तै महत्वपूर्ण सवालका कारणले असमर्थ देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘म आफै कार्यवाहक अध्यक्ष भएकै अवस्थामा नेपाल प्रेस युनियनको आठौं महाधिवेशन पोखरामा भव्य रुपमा सम्पन्न भएको स्मरण गराउँदै विविध उतारचढावका बीच नवौं महाधिवेशन सम्पन्न गराउन हामी प्रयत्नशील छौँ ।’
‘यसबीचमा नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको थियो’, विज्ञप्तिमा सिग्देलले भनेका छन् ।
‘नेपाल पत्रकार महासंघमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि पनि युनियनका साथीहरू होमिनु परेको सत्य हामी सामु छ’, सिग्देलले भनेका छन्, ‘परिणामस्वरुप हामीले दुई कार्यकालसम्म गुमाएको पत्रकार महासंघमा नेतृत्वदायी भूमिका स्थापित गर्न सफल भयौं ।’
‘महासंघका जिल्ला र प्रदेशका संरचनामा पनि हाम्रो उपस्थिति महत्वपूर्ण रह्यो’, उनले भनेका छन्, ‘हामी नवौं महाधिवेशनको तयारीमा जुटिरहेको अवस्थामा वर्तमान कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकारले नेपाली प्रेसको घाँटी निमोठ्ने र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका कानुन ल्याउन खोजेको थियो ।’
‘जसका विरुद्ध सम्पूर्ण लोकतन्त्रवादीहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने अवस्था आइलाग्यो’, अध्यक्ष सिग्देलले भनेका छन्, ‘महाधिवेशनकै तयारीमा जुटिरहेका बेला गत मंसिरमा सोही मितिमा नेपाली काँग्रेसको महासमिति बैठक पर्न गएको, त्यसलगत्तै पार्टीले विभिन्न चरणका राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको, पार्टी उपनिर्वाचनमा होमिनु परेकोलगायत परिस्थितिमा हामीले पनि केही जिम्मेवारी बहन गर्नुपरेको यथार्थ छर्लङ्गै छ ।’
‘करीव एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई केही प्रभाव पारेको यथार्थ कतैबाट लुकेको छैन’, उनले भनेका छन्, ‘अधिवेशन हुन बाँकी रहेका यी शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न साथीहरूलाई आग्रह गर्दछु ।’
अध्यक्ष सिग्देलले भनेका छन्, ‘यी विविध व्यावधानका बाबजुद केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनको महाधिवेशन समयमा हुन नसकेकोमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला अध्यक्ष सिग्देलले क्षमा माग्दै महाविधेशन छिट्टै गर्ने जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया