नेविसंघका बिरामी नेता पौडेललाई भेट्न भक्तपुर आए कांग्रेस नेताहरू

भक्तपुर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता रोशन पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

०६२–६३ को आन्दोलनका झुझारु नेता पौडेल बिरामी भएपछि भक्तपुरको चागुनारायणस्थित घरमा बस्दै आएका छन् । अचानक बिरामी भएका नेता पौडेलको शरीर राम्रोसँग चल्दैन । नेता पौडेललाई उनकी पत्नीले दिशा पिसाव समेत गराइदिनुपर्ने बाध्यता छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले पौडेललाई निवासमै पुगेर भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । उनले पौडेलको स्वास्थ्य अवस्थाप्रति आफू चिन्तित रहेको बताएका छन् ।

‘भक्तपुर निवासी नेविसंघका जुझारु नेता रोशन पौडेल । यस्ता ईमान्दार कार्यकर्ताको मूल्यांकन गर्न हामी कहाँ चुक्यौँ ?’, प्रश्न गर्दै नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले भनेका छन्, ‘यस्ता जिउँदा शहीदको सम्मान पार्टीका नेता, कार्यकर्ताले गर्न सकेनौँ भने भोलि कांग्रेस पार्टी भनेर कुन चाहिँ युवापछि लाग्छन् ?’

त्यसैले समयमै पौडेल जस्ता नेताका विषयमा ध्यान पु¥याउन आवश्यक रहेको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्वमहासचिव तिमिल्सिनाले बताएका छन् ।

नेविसंघका नेता पौडेललाई भेट्न प्रमुख सचेतक खाँणसहित नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाली कांग्रेसका युवा नेता तिमिल्सिना चागुनारायणस्थित निवासमा पुगेका थिए ।

Published : Saturday, 2019 December 7, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया