कम्युनिष्टहरूलाई संस्कार सिकाएर मानवीय बनाउनुपर्छः नीर शाह

अमेरिका । वरिष्ठ अभिनेता नीर शाहले नेपालका कम्युनिष्टहरू लोकतान्त्रिक नभएको बताएका छन् ।

अमेरिकामा नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको नेपाली कलाकारसँगको अन्तरक्रिया कार्यक्रममा अभिनेता शाहले कम्युनिष्टहरूलाई लोकतन्त्रको संस्कार दिएर मानवीय आचरण सिकाउनुपर्ने अवस्था आएको बताए ।

शाहले आफू राजनीतिक नेता नभएपनि राजनीतिबाट टाढा नरहेको बताए ।

कम्युनिष्टहरूले कलाकारलाई कलाकार हुन नदिएकोमा चिन्ता व्यक्त गर्दै शाहले भने, ‘बोल्न पाउने, लेख्न पाउने, गाउन पाउने, अभिनय गर्न पाउने अधिकारलाई सरकारले खोस्न खोजेको छ । जनताले यसको प्रतिकार गर्नुपर्छ ।’

नेपालमा कम्युनिष्टहरूको व्यवहार देख्दा अब जनताले कम्युनिष्ट हुने कि मान्छे हुने एउटा बाटो रोज्नुपर्ने अवस्था आएको शाहले बताए । उनले नेपालका कम्युनिष्ट मान्छे जस्ता नभएको टिप्पणी गरेका छन् ।

‘म मान्छे हुँ, मलाई मान्छेलाई चाहिने स्वतन्त्रता र अधिकार चाहिन्छ । कम्युनिष्टले मान्छेका अधिकार खोस्छन्’, शाहले भने, ‘हामी कम्युनिष्ट बन्ने होइन । बरु कम्युनिष्टलाई मान्छे बनाउनतिर लाग्नुपर्छ ।’

नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले देशमा प्रजातन्त्र कार्यान्वयनको लागि कलाकारले राजनीतिमा भूमिका खेल्नुपर्ने बताए ।

अध्यक्ष थापाले नेपालको संस्कृति, संस्कार, वैदिक चेत र संगीतको संरक्षण लोकतान्त्रिक शक्तिले मात्र गर्न सक्ने बताए ।

कवि शैलेन्द्र सिम्खडाले आफू कांग्रेस र कम्युनिष्ट कोहीसँग पनि नडराउने बताए । समाजको विकृतिलाई ब्यङ्ग्य बनाउन के को डर ? सिम्खडाले प्रश्न गर्दै भने, ‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले देशमा कांग्रेसको शासन आए मात्र कलाकारहरू ढुक्क भएर आफ्नो प्रस्तुति राख्न सक्छन् ।’

नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्यापटरका कार्यवाहक सभापति नारायण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य चन्द्र धितालले स्वागत मन्तव्य राखेका थिए ।

वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीले धन्यवाद ज्ञापन गरेका थिए । च्याप्टर सचिव हरि भट्टले कार्यक्रम संचालन गरेका थिए ।

सभापति नारायण खनालले संसारलाई डेमोक्रेसी सिकाउने मुलुकमा बस्ने नेपाली कलाकारमार्फत नेपालमा प्रजातन्त्रको सन्देश फैलाउनुपर्ने बताए ।

उनले भने, ‘प्रजातन्त्र रहे मात्र कलाकारिता रहन्छ । बोल्न पाउने अधिकार रहन्छ । यसको लागि कलाकारले सजिलो मार्गबाट जनतालाई सुशुचित गर्नुपर्छ ।’

कार्यक्रममा सान्फ्रान्सिस्को बे–एरियामा बसोबास गर्ने नेपालीहरूका साथै प्रजातन्त्रमा आस्था राख्ने नेता, कार्यकर्ता, कलाकार, बुद्धिजीवी, कवि र पत्रकारको उपस्थिति थियो ।

फिल्म निर्देशक उज्वल घिमिरे, शैलेस आचार्य, दीपक हुमागाइँ, नारायण पुरी, विक्रान्त बस्नेत लगायतका कालाकारहरूको साथै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव ईश्वर सापकोटाको कार्यक्रममा सहभागिता थियो ।

Published : Monday, 2019 December 2, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया