कांग्रेसले जित्यो भन्दै कम्युनिस्टभित्र खैलाबैला, ओली–नेपाल समूहबीच मारामार

काठमाडौं । नेपाली कांग्रेसले झण्डै दुईतिहाइको बहुमत नजिक रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आधार ईलाकाहरूमा कब्जा जमाइदिएपछि धुम्बराहीलाई छटपटाहट भएको छ ।

सत्ता र पार्टी नेतृत्वमा बसेका नेकपाका सीमित नेताहरूले आफ्नो बचाउँ गर्दै उपनिर्वाचनमा पार्टीको शानदार विजयी भएको बताएका छन् । तर, पार्टीको हित चाहने केही नेताहरूले उपनिर्वाचनमा नेकपालाई नोक्सान भएको बताएका छन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको जित भएको दाबी गरेका छन् । तर, उनकै पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले उपनिर्वाचनको परिणाम सुखद् नरहेको बताएका छन् ।

ओलीका सल्लाहकार एवम् नेकपाका केन्द्रीय सदस्य थापा उपनिर्वाचनको नतिजाले सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको स्पष्ट भएको जनाएका छन् ।

‘स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९.८५) स्थानमा विजय हासिल गरेको छ’, थापाले भनेका छन्, ‘एकताअघि दुई पार्टीले २८ स्थान (५३.८५) जितेका थिए ।’

‘अहिले ३ सीट (५.८५) बढी हासिल भयो’, सल्लाहकार थापाले भनेका छन्, ‘यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अश्वीकार गरेको स्पष्ट भएको छ ।’

रिजालले भनेका छन्, ‘नेकपाका लागि उपनिर्वाचनको परिणाम सुखद् रहेन । मुख्य ठाउँमध्ये दाड र कास्कीमा फराकिलो मतान्तर कायम छ । त्यसमा भावना र सहानुभूतिले पनि काम गरेको छ ।’

‘भक्तपुर र धरान फुत्किएका छन्’, नेकपाको विदेश विभागको उपप्रमुख समेत रहेका रिजालले भनेका छन्, ‘पार्टी एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेदवार चयन जस्ता कारणहरू आफ्नो ठाउँमा छन् ।’

‘यस परिणामले हामीलाई थप सजग पक्कै बनाउनुपर्छ’, रिजालले भनेका छन्, ‘समय छ, परिणाममुखी काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ । काइते तर्कले होइन ।’

नेपाली कांग्रेसले भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ प्रदेश सभामा यसअघि तत्कालीन एमालेले जितेको क्षेत्रलाई कब्जा गर्दै कृष्णलाल भँडेललाई जिताएको छ ।

धरान उपमहानगरपालिकामा पनि कम्युनिस्टहरूको ३० वर्ष पुरानो किल्ला तोड्दै नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।

त्यति मात्रै होइन दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ पनि कम्युनिस्टहरूको मुखबाट नेपाली कांग्रेसले खोसेको छ ।

प्रतिनिधि सभाका सांसद कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्रीको वडा पर्ने १६ मा नेपाली कांग्रेसका वडाध्यक्ष ताराबहादुर डिसी विजयी भएका छन् ।

कम्युनिस्टको किल्ला दाबी गरिएको स्थानमा कांग्रेसले धावा बोलेर कब्जा जमाएपछि सत्तारुढ कम्युनिस्टहरूभित्र खैलाबैला भएको छ ।

केन्द्रीय सदस्य समेत रहेका प्रेस सल्लाहकार थापा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिन्छन् ।

केन्द्रीय सदस्य एवम् विदेश विभागका उपप्रमुख रिजाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका मानिन्छन् ।

उपनिर्वाचनमा भएको पराजयको हिसावत किताब नेपाल समूहले पार्टी नेतृत्वसँग लिने तयारी गरेको छ ।

नेपाल समूहले दाङ र कास्कीमा सहानुभूतिबाट नेकपाका उम्मेदवारहरूले जितेको भन्दै असन्तुष्टि जनाएको छ । राजनीतिमा सहानुभूतिको अर्थ नहुने नेपाल समूहको बुझाइ छ ।

Published : Monday, 2019 December 2, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया