आइतबारको प्रकरण सामान्य होइन, अधिनायकवादको परीक्षण होः योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले दुईतिहाइको कम्युनिस्ट सरकारले आफ्नो दम्भ देखाएको भन्दै प्रदेश प्रमुखहरूलाई सामूहिक रुपमा हटाएको घटनालाई सामान्य रुपमा लिन नसकिने टिप्पणी गरेका छन् ।

सोमबार प्रतिक्रिया दिँदै चौधरीले राजनीतिक पूर्वाग्रह राखेर नेपाली कांग्रेसको सरकारले गरेका निर्णयलाई एकपछि अर्को गर्दै उल्ट्याउँदै जाने कार्यले कम्युनिस्टहरूले अधिनायकवादको शुरुवात गरेको संकेत दिएको बताए ।

यो घटनालाई कांग्रेसले सामान्य रुपमा नलिएको बताए । युवा नेता चाैधरीले प्रदेश प्रमुखहरू हटाउने निर्णयलाई अधिनायकवादकाे अंश भएकाे भन्दै कस्ताे प्रतिक्रया आउँछ भनेर परीक्षण गरेकाे बताए ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सात प्रदेशमा प्रदेश प्रमुखहरू एमाले, माओवादी केन्द्र र अन्य साना दलहरूको समर्थनमा नियुक्त गर्नुभएको थियो’, उनले भने, ‘अहिले आएर उनीहरूलाई हटाउने निर्णय सहमति र सहकार्यको राजनीति विपरित छ । संविधानको बर्खिलाप छ ।’

नेपाली कांग्रेसका युवा नेता चौधरीले संविधान र कानूनभन्दा माथि कोही पनि नरहेको भन्दै कम्युनिस्ट सरकारका हर्कतको आफूहरूले मसिनो गरेर निगरानी गरिरहेको चेतावनी दिएका छन् ।

आगामी दिनमा पनि यो सरकारले यस्तै खालका हर्कत गर्ने कुराको संकेत गरेको भन्दै नेपाली कांग्रेसका युवा नेता चौधरीले लोकतन्त्रप्रति विश्वास राख्नेहरू अझै एक ठाउँमा आएर मुकाबिला गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले आवश्यक पर्‍यो भने गाउँबाट जनता सडकमा आएर कम्युनिस्टहरूको अधिनायकका विरुद्ध संघर्ष गर्न तयार रहेको बताए ।

Published : Monday, 2019 November 4, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया