बाढी पीडितको पीडामा मलहम लगाउन रौतहट आए देउवा, सरकारभन्दा कांग्रेसमाथि भरोसा

चन्द्रनिगाहपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितहरूको उद्धार र राहतमा सरकार उदाशिन देखिएको भन्दै आक्रोश पोखेका छन् ।

बाढी पीडितहरूको अवस्था बुझ्न बुधबार रौतहट आएका नेपाली कांग्रेसका सभापति देउवाले सरकारप्रति आक्रोश पोखेका हुन् ।

उपसभापति विमलेन्द्र निधि र रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई लिएर आएका देउवाले बाढी प्रभावित गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २ र ५ तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरेका छन् ।

बाढी पीडित परिवारलाई भेटेका देउवाले प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील नभएको बताए ।

सदनको नियमित एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेको उनले बताए ।

नेपाली कांग्रेस सभापति देउवाले भने, ‘विपतका बेला एकजुट हुनुपर्छ तर, सरकार आफ्नै दम्भमा हिँडेको छ ।’

भारतीय बाँधका कारण नेपाली भू–भाग डुवानमा पर्दा पनि सरकारले कुटनीतिक पहल नगरेको उनको आरोप छ ।

भारतीय बाँधका कारण रौतहटमा भएको डुबानबारे सरकारले जवाफ दिनुपर्ने नेपाली कांग्रेसका सभापति देउवाले बताएका छन् ।

सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको उनको आरोप छ ।

सभापति देउवाले चुनावका बेला मधेसीभन्दै मत मागेका नेताहरूले जनता पाँच दिनदेखि भोको अनिदो रहँदा पनि वास्ता नगरेको आरोप लगाए ।

देउवासँग भएको भेटमा बाढी तथा डुवान पीडितहरूले पनि सरकारले वेवास्ता नगरेको गुनासो राखेका थिए ।

जवाफमा सभापति देउवाले बाढी पीडितहरूका लागि कांग्रेसका सांसदहरूले पाँच दिन बराबरको तलब दिने निर्णय गरेको बताए ।

उनले पुर्नस्थापना तथा दिगो रुपमा समस्या समाधानका लागि संसदमा जोडदार आवाज उठाउने बताएका छन् ।

रौतहटमा बाढीका कारण ९ जनाको ज्यान गएको छ । ७० हजार बढी प्रभावित भएका छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र यादव, उर्जा तथा सिचाइँमन्त्री वर्षमान पुन, नेकपाका सांसद प्रभु साह नेपाली सेनाको हेलिकप्टर चढेर रौतहट आएका छन् ।

उनीहरूले पनि बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्नुका साथै स्थानीय प्रहरी प्रशासनलाई उद्धार र राहत वितरणमा ध्यान दिन निर्देशन दिएका छन् ।

Published : Wednesday, 2019 July 17, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया