एक्लिदै गएको दुईतिहाइको कम्युनिस्ट सरकारलाई कांग्रेसको धमाका निर्णयले राहत
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानबाट प्रभावितहरूका लागि संघीय संसदका सांसदहरूको ५ दिनको तलब बराबरको रकम एकमुष्ट दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘बाढी, पहिरो र डुबान प्रभावितहरूका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यहरूको ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ ।’
दुईतिहाइको कम्युनिस्ट सरकारले बाढी र पहिरो प्रभावितहरूलाई राहत समयमा पुर्याउन नसकेको भनेर आलोचना भइरहेका बेला नेपाली कांग्रेसका सांसदहरूले आफ्नो तलब काटेर राहत दिने निर्णय गरेका छन् ।
एक्लिदै गएको कम्युनिस्ट सरकारलाई राहत र उद्धारमा ढिलाइ गरिरहेका बेला नेपाली कांग्रेसको यो निर्णयले मनोवल उच्च भएको छ । राष्ट्र र जनतालाई दुःख पीडा परेको बेला नेपाली कांग्रेसले गरेको यो निर्णयको सबैले प्रशंसा गरेका छन् ।
नेपाली कांग्रेसले विगत पाँच दिनदेखिको अविरल वर्षा भई उक्त वर्षाका कारणले बाढी, पहिरो र डुबान हुन गई विभिन्न जिल्लाका ६२ भन्दा बढी नागरिकले ज्यान गुमाई सकेको भन्दै चिन्ता जनाएको छ ।
‘झण्डै त्यतिनै संख्यामा नागरिक वेपत्ता, सयौं नागरिक घाइते, हजारौं नागरिक प्रभावित भएका छन्’, विज्ञप्तिमा भनिएको छ ।
‘महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएको, विभिन्न स्थानमा विद्युत सेवा लगातार रुपमा अवरुद्ध भएको, कतिपय स्थानमा उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी समेत सम्पर्क विहीन भएको, अर्बौं मूल्य बराबरको घर, खेत, धनमाल, बाली नष्ट भएको वर्तमान अवस्थामा विपद व्यवस्थापन, उद्धार राहत र पुर्नस्थापना सम्बन्धि विषयमा संसदमा गम्भीर छलफल गर्न अत्यावश्यक भएको हुँदा नेपाली कांग्रेस तथा राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ को उपनियम (१) बमोजिम बाढी पहिरो सँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषय माथि छलफल गर्न आजको बैठकको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक देखिएन’, नेपाली कांग्रेसले भनेको छ ।
‘यस सम्बन्धमा संसदमा छलफल गरी संसदको धारणा सुनी सरकारले प्रतिबद्धता व्यक्त गरी विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउँन, विपदबाट उद्धार, राहत र पुनस्र्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशील, अनुत्तरदायी र असंहिष्णुता कार्यप्रति खेद प्रकट गर्दछ ।’
‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय विपदको यस दुःखद घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न हार्दिक आहवान गर्दछ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।
‘यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजानप्रति गहिरो समवेदना प्रकट गर्दछ’, नेपाली कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया