राजनीतिक पूर्वाग्रह छाडेर उद्धारमा खटिन कांग्रेसको अपील
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन यता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर बाढी पहिरोबाट ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् । ‘नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले असार २७ गते गहिरो दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ’, उनले भनेका छन् ।
‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ’, देउवाले भनेका छन्, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दामाथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’
‘म नेपाली कांग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरूलाई उद्धार र राहतमा सहभागी हुन अपील गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु’, नेपाली कांग्रेसका सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।
‘प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु’, उनले भनेका छन् ।
‘वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने छ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गर्दछु’, नेपाली कांग्रेसका सभापति देउवाले भनेका छन् ।
अविरल वर्षाका कारण देशभरि ६४ जनाभन्दा धेरै सर्वसाधारणले ज्यान गुमाइ सकेका छन् । हजारौँ सर्वसाधारण प्रभावित बनेका छन् । अर्बौंको सम्पत्ति नोक्सानी भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया