शंकर पोखरेलको सरकारलाई आफ्नै सांसदले लगाए घोटालाको आरोप

बुटवल । प्रदेश ५ का प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले १५ दिनमा १ अर्ब ५५ करोड रुपियाँ गोष्ठीका नाममा झ्वाम पारेको छ ।

मगर सत्तारुढ नेकपाकै प्रदेश सांसद हुन् । प्रदेश सभाको आइतबार बुटवलमा बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रदेश सांसद मगरले असार महिनाको १५ दिनको अबधिमा गोष्ठीका नाममा १ अर्ब ५५ करोड खर्च गरेको दाबी गरे ।

उनले भने, ‘गोष्ठी र सेमिनारका नाममा त्यति ठूलो धनराशी खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्छ ।’

प्रदेश सांसदको आरोपको मुख्यमन्त्री पोखरेलले खण्डन गरेका छन् । फेसबुकमा आफ्नो सरकारविरुद्ध आफ्नै सांसदले प्रदेश सभामा बोलेको समाचारलाई शेयर गर्दै पोखरेलले भनेका छन्, ‘यो तथ्यहीन समाचार नछापेको भए हुन्थ्यो ।’

फुर्सदिला मुख्यमन्त्री पोखरेल सामाजिक सञ्जालमा सक्रिय छन् । चीनको लामो भ्रमण सकेर भरखरै आएका मुख्यमन्त्री पोखरेलको जिल्लामा समेत नेकपाबाट विजयी मेयरले गुणस्तीय काम नगरेको तथा आर्थिक अनियमितता गरेको भन्दै नेपाली कांग्रेसले सडक आन्दोलन समेत गरिसकेको छ ।

‘समयमै ठेक्का लागेका योजनाहरूको कामसमेत ठेकदारहरूले असार महिनामा आएर मात्रै शुरू गर्ने पुरानो परम्पराका कारण योजनाहरू गुणस्तरीय हुँदैनन्’, उनले भनेका छन्, ‘यस्तो कार्यले राज्यलाई घाटा लाग्ने गर्छ । अबिलम्ब ठग प्रवृत्ति रोकिनुपर्छ ।’

प्रदेश सभा सदस्य मगरले प्रदेश सरकारले असारे विकासको परिपाटी अन्त्य गर्नेतर्फ कदम चाल्न सुझाव दिएका छन् ।

उनले सिद्धार्थ राजमार्गको बैकल्पिक सडकखण्ड बुटवलको धागो कारखाना, चरङ्गे हुँदै झुम्सा चौकी भन्ज्याङ्ग सडकको काम सुस्त गतिमा भएको बताए ।

जेठ महिनाभित्रै काम सम्पन्न गर्ने व्यवस्था मिलाउन र समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्न प्रदेश सरकारको उनले ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको अर्को बैठक यही असार ३१ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

Published : Sunday, 2019 July 14, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया