कांग्रेसको महाधिवेशन ०७७ साल फागुनमा प्रस्ताव, बुढानिलकण्ठमा बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे विधानले दिएकाे सुविधा प्रयाेग गरेर एक वर्षपछि चाैधाैँ महाधिवेशन गर्ने तयारी थालेका छन् ।

पार्टीको १४औं महाधिवेशन २०७७ सालको फागुनसम्ममा गर्नेगरी देउवाले एक वर्षको कार्यकाल बढाउने तयारी गरेका हुन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा शनिबार बिहान बसेको देउवा समूहको बैठकले ०७७ सालको फागुनसम्ममा महाधिवेशन गर्ने निस्कर्ष निकालेको हो । देउवाको फागुन मसान्तबाट चार वर्षको कार्यकाल सकिँदै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशन ०७६ फागुनभित्रै नियमित महाधिवेशनको लागि दबाव दिएका छन् ।

पाैडेल र सिटाैला समूहले महाधिवेशनकाे कार्यसूची मागेपछि देउवा समूहले ०७७ फागुनमा महधिवेशन गर्ने गरेर तयारी थालेकाे हाे ।

पार्टीको विधानले असाधरणस्थिति भएमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था गरेको छ ।

संविधानको राजनीतिक दलसम्वन्धी व्यवस्थाले थप ६ महिनाको समय समेत बढाउन सक्ने व्यवस्था गरेको छ ।

नेपाली कांग्रेसको महाधिवेशनको तयारी शुरू गर्दागर्दै एक वर्षको समय लाग्छ । संविधानअनुसार थप ६ महिना समेत बढाउने दिशामा जान हुँदैन भनेर सभापति देउवालाई केन्द्रीय सदस्यहरूले सुझाव दिएको एक नेताले बताए ।

चालु केन्द्रीय कार्यसमितिको बैठकमै महाधिवेशनको क्यालेन्डर ल्याउन पौडेल र सिटौला पक्षले दबाब दिएका छन् ।

पौडेल र सिटौला समूहले महाधिवेशनको क्यालेन्डर माग गर्दै आएको छ । पौडेल र सिटौला समूहको दवावमा परेका देउवाले ०७७ सालभित्र महाधिवेशन गर्ने गरी कार्यसूची बनाउने तयारी गरेका हुन् ।

देउवा समूहको बैठकले संघीय संरचना अनुसार पार्टीका तल्ला तहका संरचना सहमतिमै बनाउने निष्कर्ष निकालेको छ ।

सहमति नजुटेमा भने निर्वाचनमा जाने विकल्पका लागिपनि तयार रहने देउवा समूहको योजना छ ।

पौडेल र सिटौला पक्षले विधानका प्रावधान अनुसार निर्वाचनबाटै तल्ला तहका संरचना गठन हुनुपर्नेमा जोड दिँदै आएको छ ।

Published : Saturday, 2019 July 13, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया