टेलिभिजनको कार्यालयमाथि आक्रमण भएपछि कांग्रेसद्वारा विरोध
काठमाडौं । नेपाली कांग्रेसले एभेन्यूज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा भएको तोडफोडप्रति ध्यान गम्भीर ढंगले आकृष्ट भएको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर कुनै निश्चित समाचार प्रसारणका कारण होस् या व्यक्तिगत अथवा अन्य कुनैपनि कारणले कुनैपनि संचार माध्यममाथि भौतिक क्षति पुग्ने उच्छृङ्खल कार्य जो कसैबाट भएको भएपनि त्यो अत्यन्तै निन्दनीय रहेको बताएका छन् ।
‘वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद् छ’, उनले भनेका छन्, ‘एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् ।’
‘वीरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ ।
सामाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई प्रस्तोताले अभद्र व्यवहार गरेको आक्रोशमा कार्यकर्ताले एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालयमा सो पार्टीका कार्यकर्ताले सोमबार तोडफोड र आक्रमण गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत