हाम्रो आचरण, व्यवहार र संस्कार लोकतान्त्रिक हुनुपर्छः कांग्रेस नेताहरू
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जिल्ला सभापतिहरूले महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर संकलन अभियान चलाउनुपर्ने बताएका छन् ।
नेपाल महिला संघ मोरङले आइतबार बिराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा.कोइरालाले महाधिवेशनका लागि दबाब दिने बेला आएको बताए । उनले पार्टीलाई एक बनाउन पनि महाधिवेशन आवश्यक रहेको बताए ।
डा.कोइरालाले वर्तमान सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं । अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ ।’
‘हामी सरकारले संविधान उल्लंघन ग¥यो भन्छौँ’, उनले भने, ‘के नेपाली कांग्रेस पार्टी चाहीँ आफ्नो विधानअनुसार चलेको छ ?’
उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरू आफूलाई लोकतान्त्रिक भनेपनि व्यक्तिगत आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुन जरुरी रहेको बताए ।
कांग्रेसका नेता डा.कोइरालाले महासमितिको निर्णयलाई अटेर गरेर नेपाली कांग्रेसको नेतृत्वले विधिको शासन नमानेको बताए ।
‘पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन’, उनले भने, ‘महाधिवेशन भएन भने नेपाली कांग्रेस अझ कमजोर हुन्छ ।’
‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु । काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो संगठन छैन, कहाँ र कसलाई गर्ने जागरण ?’, उनले भने, ‘त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ ।’
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पूर्ण रुपमा असफल भएको बताए । उनले पार्टी एकताको लागि आफू बाधक नबन्ने बताएका छन् ।
महामन्त्री डा.शशांक कोइरालाले महिलालाई ५० प्रतिशत आरक्षण दिनुपर्ने बताए ।
केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले महासमितिको सुझावलाई बेवास्ता गरेर नेतृत्वले गल्ती गरेको बताए ।
केन्द्रीय सदस्य डा.रामशरण महतले बहुमतको दम्भ नदेखाउन सभापति शेरबहादुर देउवालाई चेतावनी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत