विष्णु पौडेलको गृहजिल्लाबाट नेविसंघले पठायो क्षतिपूर्ति रकम

बुटवल । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटारको सरकारी जग्गा किन्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति संकलन गरेर पठाएको छ ।

नेविसंघले महासचिव पौडेलको गृहजिल्ला रुपन्देहीमा एक रुपियाँ संकलन अभियान चलाएर ६ सय ५५ रुपियाँ पठाएको हो ।

बालुवाटारको जग्गा खरिद गर्दा महासचिव पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने कम्युनिस्ट सरकारका प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक अभिव्यक्ति दिएपछि त्यो भनाइलाई व्यङ्ग्य गर्दै नेविसंघले चन्दा संकलन गरेको थियो ।

नेविसंघ रुपन्देहीले संकलन गरेको ६ सय ५५ रुपियाँ आइतबार ईलाका प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइएको नेविसंघका केन्द्रीय सदस्य जमुना ढकालले बताइन् ।

नेविससंघको क्षतिपूर्ति रकम बुझ्दै ईलाका प्रशासन कार्यालयका उपसचिव प्रकाशचन्द्र अधिकारीले ६ सय ५५ रुपियाँ जस्ताको तस्तै मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताएका छन् ।

बालुवाटारको सरकारी जग्गा छोरा नवीन पौडेलको नाममा खरिद गरेका महासचिव पौडेलको आलोचना हुँदै आएको छ ।

अत्यन्तै सस्तो मूल्यमा महासचिव पौडेलले आठ आना जग्गा खरिद गरेको रेकर्डमा उल्लेख छ । पौडेललाई कम्युनिस्ट सरकारले बचाउने गरेर अभिव्यक्ति दिँदै आएको छ ।

कम्युनिस्ट सरकारका मन्त्रीहरूले समेत महासचिव पौडेल निर्दोष रहेको र फसाइएको दाबी गर्दै आएका छन् ।

नेविसंघले ललितानिवासको जग्गा फिर्ता गर्न माग गर्दै आएको छ ।

Published : Sunday, 2019 April 28, 4:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया