बामदेव, नारायणकाजीले ओली–प्रचण्डमा देख्न थाले तानाशाही हिटलर

काठमाडौं । एकीकरण घोषणा गरेको ११ महिनापछि सोमबार नेपाल कम्युनिस्ट पार्टीको जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छ ।

सचिवालयको बैठकमा दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई नाम समेत हेर्न नदिई अध्यक्ष र सचिव पक्का गरे । सोमबार सोही नाम टेन्डर खोलेजसरी सुनाइएको थियो ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर घोषणा गरिएको नाममा धेरैको बिमति थियो । तर, यसमा कुनै पनि सन्देह नराखी ओली र प्रचण्डले भाषण गरे । ओलीले भाषणमा नेपाली कांग्रेसले राजतन्त्र ल्याउने खोजेको आरोप लगाए ।

यस्तै, प्रचण्डले भने एक बर्ष भित्र महाधिवेशन पुरा गर्ने बताए । तर, उनीहरूले भाषण गरिरहँदा सबै खुसी थिएनन् ।

यहाँसम्मकी नेताहरू नारायणकाजी श्रेष्ठ र बामदेव गौतम त पुरै आलोचनामा नै उत्रिएका थिए । तर कुन जिल्लामा को अध्यक्ष र सचिव भए भन्नेबारे सचिवालय सदस्यहरूलाई नै जानकारी दिइएन ।

जिल्ला अध्यक्ष र सचिवको नाम टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

श्रेष्ठले अध्यक्षद्वय केपी ओली र प्रचण्डले आफैंले बनाएको नियम नमानेको बताएका थिए । श्रेष्ठले दुवैको चरित्र राम्रो नदेखिएको बताए । यहाँसम्मकी लोकतान्त्रिक नभएर उनीहरू हिटलर प्रवित्तिमा अघि बढेको पनि बताउन भ्याए । श्रेष्ठको भनाईमा गौतमको सहमति थियो ।

७७ जिल्लामध्ये ४५ जिल्लाको नेतृत्व पूर्वएमालेको भागमा परेको छ भने ३२ जिल्ला पूर्वमाओवादीका भागमा परेको छ । पूर्वएमालेको भागमा कुन ४५ र पूर्वमाओवादीले नेतृत्व पाउने कुन ३२ जिल्ला हुन् भन्ने पार्टीका शीर्ष नेताहरूले अरू नेताहरूलाई पनि बताएका थिएनन् । एकाएक नाम सार्वजनिक भयो ।

पूर्वएमालेभित्र केपी ओली समूह र माधवकुमार नेपाल समूहबीच जिल्ला संगठनको नेतृत्वलाई लिएर लामो समयदेखि देखिएको विवाद पनि सुल्झिएको छ ।

यो सहमति लामो समयदेखि नेपाल पक्षले राखेको अडानअनुसार नै भएको हो । तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेको एक बर्ष कटिसक्दा पनि पार्टीका जिल्ला संगठनक एकता टुंगिएको थिएन ।

पूर्वएमालेका जिल्ला अध्यक्षहरूले नै एकीकृत पार्टीको जिल्ला नेतृत्व (अध्यक्ष वा सचिव) पाउने भए पनि पूर्वमाओवादीको हकमा भने त्यही मापदण्ड लागू भएको छैन ।

पूर्वमाओवादीको तर्फबाट जिल्लाको नेतृत्वमा जानेहरूको सूची प्रचण्डले तयार गरेका छन् । पूर्वमाओवादीका कैयंन जिल्ला संयोजक यो सूचीमा परेका छैनन् ।

पूर्वमाओवादीका एक नेताले प्रचण्डले एकीकृत पार्टीको जिल्ला नेतृत्वमा जाने व्यक्तिको नामबारे आफूहरूसँग छलफल नगरेको बताए ।

Published : Tuesday, 2019 April 23, 6:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया