बालुवाटारभित्र कृतिम सहमति, नेकपामा गाभिएका साना दलको पत्तासाफ
काठमाडौं । पूर्वएमाले र माओवादी केन्द्रबीच जिल्लाका अध्यक्ष र सचिव मिलाउने सहमति भएको छ ।
६०–४० को भागबण्डामा सहमति गरेर पूर्वएमाले र माओवादी केन्द्रले विवाद मिलाएका हुन् । दुई ठूलो पार्टीले भाग बण्डा गरेर जिल्ला बाँडे पनि एमाले र माओवादीसँग पार्टी समायोजन गरेका चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल जस्ता साना दलहरूलाई कुनै भाग दिइएको छैन ।
जिल्ला अध्यक्ष नदिए पनि सचिवसम्म दिनुपर्ने थियो । तर, साना दलहरूलाई नेकपाले पेलेर राखेको छ ।
फागुन अन्तिमसम्म प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने तर, सहमतिमा नआए पेलेरै जाने रणनीतिमा थिए ।
फागुन ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको शीर्ष बैठकमा दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित झलनाथ खनाल र वामदेव गौतमले दुई अध्यक्ष र नेपालले बेग्लै छलफल गरेर सहमति नगरेसम्म एकीकरण टुंगिन नसक्ने धारणा राखेका थिए ।
ओलीले त्यस्तो छलफलमा अर्का नेता ईश्वर पोखरेललाई पनि सामेल गर्नुपर्ने विचार राखेपछि एकता अल्झिएको थियो ।
दुई अध्यक्षले आफ्नो अनुकुलमा सूची बनाएको भन्दै नेता नेपालले समानान्तर सूची बनाउने र बेग्लै भेला गर्ने चेतावनी दिएका थिए । नेपालको चेतावनीपछि चैत तेस्रो साता परिस्थितिले उल्टिएको छ ।
गौतमले ओली र प्रचण्डसँगको बेग्लै छलफलमा पूर्वएमालेभित्र नवौं महाधिवेशनपछि छुट्टाछुट्टै समूह रहेकाले पहिले नेपालसँग सहमति नजुटेसम्म नटुंगिने सुझाब राखेका थिए ।
ओलीले नेपालसँग निरन्तर संवाद अघि बढाए । एकता प्रस्तावको गृहकार्य गरिरहेका महासचिव विष्णु पौडेलले नेपालसँग छुट्टै छलफल गरेर एकता प्रस्तावको गृहकार्य गरेका थिए ।
अर्का अध्यक्ष प्रचण्डले पनि नेपालसँगको सहमतिमा जोड गरेपछि सहमति भएको स्रोत बताउँछ ।
सचिवालय बैठकले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने प्रस्ताव गरेको छ ।
मंगलबार बस्ने सचिवालय बैठकबाट पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने तयारी छ ।
तत्कालीन माओवादीबाट ९९ सदस्यीय सचिवालयका नेतामध्ये वरिष्ठतामा अगाडि रहेका नेता पोलिटब्युरोमा समेटिनेछन् ।
एमालेबाट तत्कालीन पोलिटब्युरो सदस्य ६२ जना समेटिनेछन् । एमालेको भागबन्डामा परेका बाँकी २० सदस्य दुई पटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा चयन गर्ने तयारी छ ।
वाम राजनीतिक श्याम श्रेष्ठले नेकपाको एकता ५–७ महिनाअघि नै टुंगिसक्नु पर्नेमा बल्ल सुरसार भएकोमा चिन्ता जनाएका छन् । ‘टुंगिनका लागि टुंगिएजस्तो छ, धेरै कुरा मिलेजस्तो लाग्दैन’, उनले नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा भनेका छन्, ‘सिद्धान्तका आधारमा जिल्ला तहको बाँडफाँट मात्रै भएको छ । दुवैको पृष्ठभूमिलगायत अलग छ ।’
‘टाउको र शरीरको एकीकरण हुनुपथ्र्यो तर दुवै अलग्गैजस्तो देखिन्छ । मोटामोटी टुंग्यायौँ भन्ने सन्देश दिन खोजेजस्तो देखिन्छ’, उनले भनेका छन्, ‘गणितीय एकीकरण मात्र मिलेको छ । दुवै पार्टी सत्ता स्वार्थले मात्र जोडिएका छन् ।’
‘प्रचण्ड असन्तुष्टि व्यक्त गर्दै हिँडिरहनुभएको छ । सरकारमा पूर्वमाओवादीतर्फका मन्त्री असन्तुष्ट देखिन्छन्’, वाम विश्लेषक श्रेष्ठले भनेका छन्, ‘एमालेतिरका पनि अधिकार ज्यादै केन्द्रीकरण भएकोमा असन्तुष्ट देखिन्छन् त्यसकारण एकता कति दिन टिक्ने हो हेर्न बाँकी छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत