छ महिना समय दिएर नेविसंघको नेतृत्व आउँछः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले छ महिनाभित्र अधिवेशन गर्ने गरी नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति छिटै बनाइने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ४९औँ स्थापना दिवसका अवसरमा स्ववियु परिषद् नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले नेविसंघको तदर्थ समिति बनाउन गृहकार्य भइरहेको बताए । डा.महतले नेविसंघको तदर्थ समितिलाई कति समय दिने भनेर पनि छलफल भइरहेको बताए ।

‘नेविसंघको नेतृत्व नभएको अवस्थामा हामीले स्थापना दिवस मनाउन बाध्य भएका छौँ’, उनले भने, ‘हामीलाई पनि राम्रो लागेको छैन । नेविसंघको तदर्थ समिति बनाउन केही प्राविधिक समस्याले गर्दा समयमा नेविसंघ बनाउन नसकिएको हो ।’

उनले नेविसंघको नयाँ नेतृत्वमा सक्षम र अलस नेताहरूलाई ल्याइने उल्लेख गरे ।

कांग्रेसका सहमहामन्त्री डा.महतले पार्टीभित्रको गुटलाई मिलाउन पनि नेविसंघले पूर्णता पाउन कठिन भएको संकेत गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थी नेताहरू नेतृत्व विहीन अवस्थामा नेविसंघको ४९औँ स्थापना दिवस मनाउनु परेको भन्दै चिन्ता जनाए । उनीहरूले आधा दशक पूरा गर्दै गरेको नेविसंघले नेतृत्व पाउन नसक्नु कांग्रेस नेतृत्वमाथि प्रश्न उब्जिएको बताए ।

स्ववियु परषद् नेपालका अध्यक्ष निराजन नेपालले नेविसंघलाई छिटोभन्दा छिटो पूर्णता दिन आग्रह गरे । उनले नेविसंघमा सक्षम नेतृत्व ल्याएर तोकिएको समयमा अधिवेशन गरेर नेविसंघका नेता तथा कार्यकर्ताको मनोवल उच्च बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेविसंघका निर्वतमान अध्यक्ष नैनसिंह महर, विद्यार्थी नेताहरू ऋषिकेशजंग शाह, कृष्णकुमारी बस्नेत, दुजाङ शेर्पासहितका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Saturday, 2019 April 20, 6:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया