काम नगर्ने बदमास ठेकेदार र कम्पनीहरूको सूची तयार पार्न मन्त्रीको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सम्भौता गरेर काम नगर्ने ठेकेदार कम्पनीको सूची तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।

शहरी विकास मन्त्रालय र अन्तर्गतका निकायहरूको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बिहीवार सम्बोधन गर्दै मन्त्री राईले निर्माण कम्पनीकै कारण रुग्ण भएका आयोजनाको सूची तयार गरी १५ दिनभित्रमा सार्वजनिक सूचना जारी गर्न निर्देशन दिएका हुन ।

उनले रुग्ण आयोजना पहिचान गरेर सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिए ।

मन्त्री राईले भने, ‘काम नगरेको भनेर पप्पु कन्ट्रक्सनलाई कारवाही भयो । तर, झोलामा सयौँ त्यस्ता काम नगर्ने कम्पनी छन् । ती सबैको सूची तयार गर्नुहोस । एकै पटक सबैसँग सम्झौता रद्द गरेर कारवाही गर्नुपर्छ ।’

काम नगर्ने ठेकेदार कम्पनीलाई कानूनको दायरामा ल्याउन अन्य मन्त्रालयसँग समेत समन्वय गर्ने मन्त्री राईको भनाई छ ।

मन्त्रालय अन्तर्गतका हरेक आयोजना र कार्यक्रमको पाक्षिक रुपमा कार्यप्रगति पेश गर्न समेत उनले कर्मचारीलाई निर्देशन दिएका छन ।

महिनाको दुई पटक मन्त्रालय अन्तर्गतका निकायले गरिरहेका काम र उपलव्धीको समीक्षा गरी कर्मचारीको कार्यसम्पादन मूल्याङकन गरिने मन्त्री राईले बताए ।

‘प्रधानमन्त्रीज्यूले मन्त्रालयगत कार्यप्रगतिको मूल्याङकन गरिरहनुभएको छ’, मन्त्री राईले भने, ‘अब मैले मन्त्रालय अन्तर्गतका सबै निकायको कार्य प्रगतिवारे पाक्षिक रुपमा मूल्याङकन गरी कर्मचारीको कार्यसम्पादन हेर्नेछु । त्यसैले नतिजामुखी भएर काम गर्नुहोस ।’

‘मन्त्रालयको कार्यप्रगति अपेक्षाकृत रुपमा हुन नसकेकाले तीव्रगतिमा काम गर्नुको विकल्प छैन’, उनले भने, ‘कर्मचारी संयन्त्र प्रक्रियामुखी होइन नतिजामुखी हुनुपर्छ ।’

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले खर्च गर्ने क्षमता बढाउनुपर्ने बताए । त्यसका लागि मातहतका निकायसँग सहजीकरण गरिने उनले बताए ।

बैठकमा मन्त्रालय अन्तर्गतका निकायहरू शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, धोवीखोला करिडोर आयोजना, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी लिमिटेड लगायतले दोस्रो चौमासिक प्रगतिवारे प्रस्तुति दिएका थिए ।

बैठकमा योजना आयोग, अर्थमन्त्रालय लगायतका प्रतिनिधी पनि सहभागी थिए ।

Published : Thursday, 2019 April 18, 8:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया