शुभकामना दिँदै गर्दा देउवाले सम्झिए ती पीडितहरूलाई
काठमाडौं । नेपाली कांग्रेसले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन आग्रह गरेको छ ।
नयाँ वर्ष २०७६ साल प्रवेशको अवसर शनिबार शुभकामना सन्देश दिँदै सभापति शेरबहादुर देउवाले लोकतन्त्र र विकासको एजेण्डामा संगठित गर्न आग्रह गरेका हुन् ।
‘हाम्रा गाउँ—नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको छ’, उनले भनेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ ।’
कांग्रेसका सभापति देउवाले सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउने बताएका छन् ।
‘नव वर्ष २०७६ ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।
नव वर्षको शुभकामना दिइरहँदा हालै बारा पर्सामा हावाहुरीमा परेर जीवन गुमाएकाहरूलाई देउवाले स्मरण गर्न चाहेको बताएका छन् ।
‘हुरीबाट पीडित दिदीबहिनी दाजुभाईहरूको उद्धार र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउने कार्य तीब्र ढंगले गर्न यो घडीमा सरकारलाई झक्झक्याउन चाहन्छु’, देउवाले भनेका छन् ।
‘नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’, नेपाली कांग्रेसले भनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत