प्रधानमन्त्री र उनका सहयोगीहरू भ्रष्ट छन्ः रामचन्द्र पौडेल
तम्घास । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विप्लव नेतृत्वको नेकपालाई समर्थन नगरेको बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले विप्लव नेतृत्वको नेकपालाई सहयोग गरेको भन्ने कम्युनिस्ट सरकारको भनाइमा कुनै सत्यता नरहेको बताए ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘सर्पको खुट्टा सर्पले नै देख्छ, विप्लव को हुन्, कहाँबाट आएका हुन् भन्ने कुरा कांग्रेसलाई होइन् ओली–प्रचण्डलाई थाहा छ ।’
‘नेपाली कांग्रेसले विप्लवलाई समर्थन गरेको भन्ने सरकारी हल्लामा कुनै सत्यता छैन’, पौडेलले भने ।
उनले कांग्रेसले कहिल्यै पनि हिंसात्मक राजनीतिलाई समर्थन नगरेको बताए ।
पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौता राष्ट्रघाति भएको बताए । उनले देश टुक्र्याउँने विषयमा हुने जनमत संग्रह कांग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिए ।
नेता पौडेलले कम्युनिस्ट सरकारले समृद्धिको नारा दिएपनि भ्रष्टाचारकै कारण त्यो पूरा नहुने बताएका छन् । उनले प्रधानमन्त्री र उनका वरिपरिका मान्छे नै भ्रष्ट भएको आरोप लगाए । पौडेलले भने, ‘प्रधानमन्त्रीबाट सुशासनको आरम्भ हुनुपर्छ ।’
नेता पौडेलले कम्युनिस्टले जनतालाई झुक्याएर बहुमत ल्याएको र अहिले पनि विभिन्न नारा दिएर जनतालाई झुक्याइरहेको आरोप लगाएका छन् ।
‘कम्युनिस्टहरूको समाजवादले मानवको समस्या समधान गर्दैन’, उनले भने, ‘न ओलीको समाजवादले मानवका समस्याको समधान गर्यो न त विप्लवकाले गर्नेछ ।’
उनले समाजवाद र सर्वहारा वर्गको नाममा कम्युनिस्ट पार्टीका कार्यकर्तालाई बलियो बनाउने काम मात्रै भएको उनले दावी गरेका छन् ।
कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएका कारण लोकतन्त्रको रक्षाका लागि निरन्तर रुपमा उभिने वरिष्ठ नेता पौडेलले बताए ।
‘कांग्रेस लोकतन्त्रका लागि ७ सालदेखि लड्दै आएको पार्टी हो’, उनले भने, ‘लोकतन्त्रका लागि निरन्तर लडिरहन्छ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत