विश्वप्रकाशको विज्ञप्ति बालुवाटारमा खोजी, कांग्रेसले सिकायो ओलीलाई अनुशासन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार साँझ विज्ञप्ति जारी गरेर ओलीको पछिल्लो टिकाटिप्पणीलाई पदीय गरिमा विपरितको संज्ञा दिएका छन् ।

प्रदेश ३ का आफ्नो पार्टीका अध्यक्ष, इञ्चार्ज र सदस्यहरूलाई शपथ खुवाउने क्रममा ओलीले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै कटु आलोचना गरेपछि कांग्रेसले ओलीका अभिव्यक्तिहरूमा सुधारका लागि आग्रह गरेको हो ।

‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले आज (बिहीबार) एक कार्यक्रमका क्रममा नेपाली कांग्रेसका प्रति गर्नुभएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाइँ अनुरुप नभएको दुःखद् र हलुका अभिव्यक्तिका रुपमा लिएका छौं’, शर्माले भनेका छन् ।

‘एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन ।’

‘विप्लव समूहलाई लगाइएको प्रतिबन्धबारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न’, शर्माले भनेका छन्, ‘वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतंक त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपील गरिरहेका छौं ।’

कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरूको आतंकले मुलुकलाई समाधान दिंदैन ।’

नेपाली कांग्रेसले भनेको छ, ‘बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई हाम्रो स्वागत छ र रहनेछ तर सरकार–सीके सम्झौताको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद् र आपत्तिजनक छ ।’

‘तिक्त भाषणहरूमा समय खेर फाल्नुभन्दा परिपक्व छलफलमा समय लगाउनु पर्ने प्रधानमन्त्रीको कर्तव्य स्मरण गराउन चाहन्छौँ’, प्रवक्ता शर्माले भनेका छन् ।

‘नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त छ’, प्रवक्ता शर्माले भनेका छन्, ‘कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहीन टिप्पणीहरू गरेर दिन बिताउनुभन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु ।’

ओलीलाई अनुशासनको सिकाउँदै कांग्रेस प्रवक्ता शर्माले जारी गरेको विज्ञप्ति बालुवाटारमा खोजी भएको छ । स्रोतको अनुसार ओलीको सचिवालयले शर्माको विज्ञप्ति धपधपी खोजेका छन् ।

000

प्रधानमन्त्रीको टिप्पणी : आमाको अगाडि मावलको बयान

सम्माननीय प्रधानमन्त्री केपी ओलीले आज एक कार्यक्रमका क्रममा नेपाली कांग्रेसका प्रति गर्नु भएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद र हलुका अभिव्यक्तिका रुपमा लिएका छौं ।

१. एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन ।

२. विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न । वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं । विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरुको आतङ्कले मुलुकलाई समाधान दिंदैन ।

३. बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई हाम्रो स्वागत छ र रहनेछ तर सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक छ । तिक्त भाषणहरुमा समय खेर फाल्नु भन्दा परिपक्व छलफलमा समय लगाउनु पर्ने प्रधानमन्त्रीको कर्तव्य स्मरण गराउन चाहन्छौँ ।

४. नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त छ । कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु ।

जय नेपाल

विश्वप्रकाश शर्मा
प्रवक्ता

Published : Thursday, 2019 March 28, 7:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया