ओलीको राष्ट्रवादी चरित्र जनताले बल्ल थाहा पाउँदै छन्ः रामचन्द्र पौडेल
महोत्तरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी जोगाउन र मधेससँगको सम्बन्धलाई निरन्तरता दिन मधेस झरेको बताएका छन् ।
कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ ले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले हिमाल, पहाड र तराईलाई एक गर्नका लागि आफू मधेस संवाद गर्न आएको बताए ।
‘म कांग्रेसलाई बचाउन र मधेसमा कांग्रेससँगको सम्बन्धलाई निरन्तरता दिनका लागि हिमाल, पहाड र तराईलाई एक गर्न मधेस संवाद गर्न आएको हुँ’, उनले भने ।
उनले पहाडका ठूला नदीको आम्दानी मधेसले पाउनुपर्नेमा जोड दिँदै लोकतन्त्र बलियो भए मात्रै मधेसी जनता बलियो हुने बताए ।
जनता बलिया भएमात्रै मधेशका माग पूरा हुने नेता पौडेलको भनाई थियो । चुरे क्षेत्रमा भइरहेको दोहनप्रति आपत्ति जनाउँदै उनले चुरेको दोहनले मधेसको विकास नहुने प्रष्ट पारे ।
मधेसलाई सांस्कृतिक पहिचान चाहिएको जिकिर गर्दै पौडेलले भौगोलिक रुपमा राजमार्गभन्दा उत्तर एक ईञ्च जमिन चाहिँदैन भन्नेहरूलाई मधेस विरोधीको संज्ञा दिए ।
मधेसको विकासका लागि पानीजहाज नभएर मधेसका बाँझा खेतमा सिँचाइका लागि पानीको आवश्यकता परेको दोहोर्याउँदै पौडेलले भने, ‘मधेसलाई पानी जहाजभन्दा सुनकोशी डाईभर्सन चाहिएको छ ।’
राष्ट्रवादी बन्नका लागि मधेसलाई गाली गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको राष्ट्रवादी सोँचलाई समयले प्रष्ट्याउने उनको दाबी थियो ।
संघीयता, लोकतन्त्र र गणतन्त्रको संरक्षण गर्न आवश्यक रहेको भन्दै पौडेलले राष्ट्रलाई जनमत संग्रहमा लैजाँदा देश विरोधीहरू बलिया हुने बताए । उनले धार्मिक द्वन्द्व भए मुलुक सोमालियाको अवस्थामा पुग्ने पनि दाबी गरे ।
‘हामीले धर्मको कुरा होइन अब विकासको कुरा गर्नुपर्छ’, कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘धार्मिक द्वन्द्व भयो भने देश सोमालिया हुन्छ । लोकतन्त्रले नै देशको स्वाभिमान बलियो बनाउँछ ।’
कांग्रेसले संविधान संसोधन गर्न खोज्दा तत्कालीन एमालेले विरोध गरेको स्मरण गराउँदै प्रशन गरे, ‘हिजो केपी ओलीले मधेसका जनता र मधेसका नेतालाई के–के भन्दै हिँडेका थिए ? आज तीनै मधेसका नेताहरू ओली नेतृत्वको सरकारमा किन टाँसिएका छन् ? संविधान संसोधनको कुरा कहाँ हरायो । संविधान संशोधन छोडेर सत्तामा जानु भनेको सत्ताको भोगी हो कि होइन ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत