पचास लाख काण्डमा नेकपाका सांसद रावलको नाम जोडियो, फस्ने डरले पिएलाई हटाए

कैलाली । कैलाली क्षेत्र नम्बर २ मा दबंग सांसदको उपाधि पाएका झपटबहादुर रावलले स्वकीय सचिव पुरन चौधरीलाई जागिरबाट निकालेको खबर छ ।

चौधरीलाई स्वकीय सचिवमा नियुक्ति गर्दा नै क्षेत्र नम्बर २ का कार्यकर्ताले सांसद रावलको विरोध गरेका थिए ।

चौधरीको घर कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा पर्छ । क्षेत्र नं. १ को मान्छेलाई किन स्वकीय सचिवको अवसर दिएको भनेर पार्टीमा समेत कुरा उठ्दै आएको थियो । तर, रावलले पार्टी कार्यकर्ताको गुनासोका खासै वास्ता गरेका थिएनन् ।

काठमाडौंबाट कैलाली आउँदा चौधरीले रावलको स्वागतमा हुल्लडबाज युवाहरूलाई परिचालन गर्ने प्रवृत्तिको पार्टीमा आलोचना हुँदै आएको थियो ।

हिन्दी सिनेमाहरूमा देखाइने अपराधिक पृष्ठभूमिबाट सांसद भएकाहरूको तडकभडक जस्तो राजनीतिक जीवनशैली रावलमा विकास भइरहेकोप्रति कैलाली नेकपाका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गर्दै आएका थिए ।

धनगढी एअरपोर्टमा उत्रिनेवित्तिकै रावलको गाडी अघिपछि पार्टीका कार्यकर्ताभन्दा हुल्लडबाज युवाहरू मात्र देखिँदा समाजमा गलत सन्देश प्रवाह हुँदै आएकोले पार्टीका अरु नेताहरूलाई राजनीतिक सेवा गर्न मुस्किल भइरहेको नेकपाका एकजना नेताले बताए ।

स्वकीय सचिव पुरन चौधरीका कारण साख गिर्न थालेपछि चौधरीलाई अहिले हटाउनु परेको नेकपा लम्कीस्थित एकजना नेताको भनाइ छ ।

भारतबाट करीव ७२ लाख भारतीय रुपियाँ चोरी गरेर ल्याउँदा पक्राउ परेका लम्कीचुहा नगरपालिकाका कृष्णराज जोशीलाई छुटाइदिन्छु भनि ५० लाख रुपियाँको बार्गेनिङ गरेको आरोप खेप्दै आएका चौधरीको अडियो टेप नै बाहिरिएपछि सांसद रावलले उनलाई स्वकीय सचिवबाट हटाएको बताइएको छ ।

पुर्पक्षका लागि कैलाली कारागारमा रहेका जोशीलाई रिहा गराउन सेटिङको खोजीमा रहेका कृष्णराजका भाई टेकराजले रावलका स्वकीय सचिव चौधरीलाई भेटेर अलि अलि खर्च गरेर भएपनि दाईलाई जेलबाट रिहा गराउने प्रस्ताव सुनाए । स्रोतले भन्यो, ‘जोशीको मुद्धा मिलाउन सांसद रावलले ५० लाख रुपियाँ खर्च लाग्ने बताएको चौधरीको भनाइ थियो ।’

दश लाख रुपियाँसम्म तिर्न तयार भएका टेकराज जोशी आफ्नै क्षेत्रको सांसदले ५० लाख खर्च लाग्छ भन्ने खबर स्वकीय सचिवमार्फत पठाएपछि काम नहुने भो भन्दै लम्की फर्किएका थिए ।

चौधरी र जोशीबीच काठमाडौंको एक रेष्टुरेन्टमा रकमका विषयमा छलफल भएको स्रोतको दाबी छ । उक्त वार्तालापको अडियोको केही अंश सार्वजनिक भएपछि चौधरी विवादित बनेका थिए । त्यो विवादमा सांसद रावल पनि तानिनसक्ने खतरा भएकाले चौधरीलाई स्वकीय सचिवबाट हताएको लम्की चुहा नगरपालिकामा चर्चा छ ।

चौधरीको स्थानमा रावलले कैलाली क्षेत्र नं. २ प्रतापुरका दिनेश चौलागाइँलाई स्वकीय सचिव बनाएका छन् । साँघु साप्ताहिकबाट समाचार साभार

Published : Tuesday, 2019 March 26, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया