देउवा निवास पुगे सयौँ विद्यार्थी, नेविसंघ गठन गर्न दवाव (तस्वीर)

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेविसंघको नयाँ नेतृत्व बनाउन दवाव दिएका छन् ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा आइतबार सयौँको संख्यामा पुगेका नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताले तदर्थ समिति छिटो गठन गर्न माग गरे ।

उनीहरूले कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध लड्न र आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा जित्नका लागि पनि नेविसंघको तदर्थ समिति छिटो गठन गर्नुपर्ने माग राखेका हुन् ।

नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा विभिन्न क्याम्पस इकाई अन्तर्गतका नेविसंघका नेता तथा कार्यकर्ताले देउवालाई भेटेर दवाव दिएका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले १२औं अधिवेशन गराउन नसकेर राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ ।

सभापति देउवा समूहका विद्यार्थीहरूले नेविसंघलाई नेतृत्व दिन र १२औं महाधिवेशनको वातावरण तयार गरिदिन आग्रह गरेका छन् ।

नेविसंघका नेता शाहले नेविसंघलाई नेतृत्वविहीन बनाउन नहुने बताए । उनले छिटोभन्दा छिटो तदर्थ समिति गठन गर्न माग गरेका छन् । नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने वा नगर्ने भन्नेमा विवाद छ ।

विद्यार्थी नेता दुजाङ शेर्पाले नेविसंघको नयाँ नेतृत्वको लागि ऋषिकेशजंग शाहलाई अध्यक्ष दिन माग गरे । ‘उमेर हद लागू हुँदैन भने ऋषिकेशजंग शाहलाई नेविसंघको अध्यक्ष बनाउन हाम्रो सुझाव छ’, उनले भने, ‘उमेर हद लागू हुन्छ भने हामी पनि नेतृत्व लिन तयार छौँ ।’

नेविसंघका नेताहरूको सुझाव र कुरा सुनेपछि कांग्रेस सभापति देउवाले विद्यार्थीको कुरा आफूले बुझेको र पार्टीभित्र छलफल गरेर छिट्टै निर्णय लिइने आश्वासन दिएका थिए ।

 

  

Published : Sunday, 2019 March 24, 1:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया