भ्रष्टाचार गरेर प्रधानमन्त्री र मन्त्री मोटाएः डिला संग्रौला

गोरखा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौलाले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी छन् ।

गोरखामा शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृ संग्रौलाले भ्रष्टाचारले जनता दिन प्रतिदिन गरिब हुँदै गएको बताइन् । ‘भ्रष्टाचार गरेर नेता, मन्त्री र प्रधानमन्त्री मोटाउँदै गएका छन्’, उनले भनिन् ।

‘यो मुलुकका जनता दिन प्रतिदिन गरिब हुँदै जाने’, संग्रौलाले भनिन्, ‘यो मुलुकका नेता, प्रधानमन्त्री र मन्त्रीहरू मोटाउँदै जाने ?’

उनले भनिन्, ‘भ्रष्टाचारले देश डुब्दै जाने विकराल अवस्था छ ।’

कम्युनिस्ट सरकारले सुशासन, विकास र समृद्धिको नारा लगाए पनि सरकार चलेको एक वर्षमा भ्रष्टाचार रोक्न नसकेको संग्रौलाले बताइन् ।

सुशासन कायम गराउने तथा भ्रष्टाचार रोक्नेतर्फभन्दा प्रधानमन्त्री खड्गप्रसाद ओलीको ध्यान कसरी आफू थप शक्तिशाली बन्ने भन्नेमा केन्द्रित रहेको उनले बताइन् ।

हरेक क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको छ । यो कम्युनिष्टहरूको चरित्र नै हो’, उनले भनिन्, ‘संविधान विपरीत सरकारले राष्ट्रिय सुरक्षा परिषद विधेयक ल्याएको छ । प्रधानमन्त्रीले चाहेमा सेना प्रयोग गर्न मिल्ने गरी ल्याएको विधेयकको हामीले विरोध गरिराखेका छौं ।’

राष्ट्रिय सुरक्षा परिषदलाई छायाँमा राखेर प्रधानमन्त्री ओली आफैंले सेना प्रयोगको अधिकार राख्न खोजेको आरोप संग्रौलाले लगाइन् ।

‘सामाजिक सञ्जालमाथि पनि नियन्त्रण गर्न खोजिएको छ’, उनले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि पनि हस्तक्षेप गरियो ।’

सरकार सुध्रिएन भने सडक, सदन र सत्याग्रहमार्फत खबरदारी गरिने उनले चेतावनी दिइन् ।

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले प्रतिबन्ध लगाउनुभन्दा उनीसँग सरकारले वार्ता गर्नुपर्ने बताइन् ।

‘प्रतिबन्ध लगाएर समस्याको समाधान निस्कँदैन । सरकारले वार्ता गर्नुपर्‍यो, विप्लवले पनि हतियार छाड्नुप¥यो’, उनले भनिन् । मेलम्ची, बूढीगण्डकी र वाइड बडी खरिदमा भ्रष्टाचार भए पनि सरकार चुप बसेको उनले आरोप लगाइन् ।

Published : Saturday, 2019 March 23, 5:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया