सच्चा कांग्रेसले आन्तरिक कुरा बाहिर गर्दैनः डा.रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले पार्टीभित्र आफू गुट तथा उपगुटको पक्षमा नरहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘पार्टीका आन्तरिक कुराहरू बाहिर धेरै गर्न जरुरी छैन, म गुटको पक्षमा छैन ।’

उनले कांग्रेसको एउटा सच्चा कार्यकर्ताले पार्टीभित्रको आन्तरिक कुरा बाहिर गर्न नहुने बताए । जे छलफल र विवाद गर्ने हो पार्टीभित्रै बन्द कोठामा गर्नुपर्ने डा.महतले सुझाव दिए ।

हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अनुशासनलगायत विभिन्न समितिका संयोजक तथा सदस्यहरू चयन गरेकोप्रति टिप्पणी गर्दै डा.महतले भने, ‘जिम्मेवारी दिँदा गुण र दोषको आधारमा दिने हो, उसको पृष्ठभूमि हेरेर दिने हो, अहिले जे निर्णय भएको छ ।’

‘समिति बनाउने प्रक्रिया जसरी गरिएको छ, त्यो बेष्ट होइन, तेरो र मेरो भनेर निर्णय गरिएको छ’, उनले भने, ‘यो मात्रै पर्याप्त छैन् । तर, लामो समयपछि निर्णय भएको छ, यो सकारात्मक छ ।’

उनले गुटभन्दा माथि उठेर पार्टीलाई चलाउनुपर्ने धारणा राखेका छन् । डा.महतले भने, ‘सरकारले यति धेरै गल्तीहरू गरिरहेको छ, यसमा प्रतिपक्षीको भूमिका प्रभावकारी हुनुपर्दथ्यो । तर, हुन सकेको छैन् ।’

उनले पार्टीको महासमिति बैठक र जिल्ला सभापतिहरूको कुरालाई पार्टी नेतृत्वले तत्काल सम्बोधन र कदर गर्नुपर्ने पनि जोड दिए ।

Published : Thursday, 2019 March 21, 6:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया