पत्रकार महासंघले स्थापना दिवस भव्यताका साथ मनाउने

काठमाडौं । नेपाल पत्रकार महासंघले फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभा ऐतिहासिक रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा साधारणसभामा सहभागी सबैमा केन्द्रीय समितिका तर्फवाट धन्यवाद ज्ञापन प्रस्ताव पारित गरिएको छ ।

काठमाडौंमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाका निर्णय, निर्देशन तथा विशेष प्रस्तावहरू कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाई आवश्यक पहल गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यही चैत १६ गते नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस रहेको महासंघले जनाएको छ ।

स्थापना दिवसका अवसरमा महासंघले विविध मौलिक तथा रचनात्मक कार्यक्रमहरू गरी नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एशोसिएट समितिलाई निर्देश दिएको छ ।

महासंघले स्थापना दिवसका अवसरमा केन्द्रीय समितिको आयोजनामा चैत्र १३ देखि १६ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेको छ ।

यस अवसरमा महासंघका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, संकट तथा कठिन अवस्थाको रिर्पोटिङ अनुभवको प्रस्तुतिकरण प्रतियोगिता, पूर्वअध्यक्ष तथा सभापतिहरूसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गर्ने निर्णय गरको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आगामी मे २ र ३ तारिखमा राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

प्रेस स्वतन्त्रता सम्मेलनमा महासंघका सबै पूर्वअध्यक्ष तथा सभापतिहरू, महासंघले हालसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानीहरू तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

सो अवसरमा सबै प्रेस स्वतन्त्रता सेनानीहरुलाई परिचयपत्र र लोगो प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मान समेत गरिने विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2019 March 18, 9:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया