दुई नं. बुँदा राष्ट्रिय स्वाधीनता र अखण्डताको विपक्षमा छः डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट सरकार र बिखण्डनकारी सीके राउतबीच भएको सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सोमबार बिहान सरकार र सीके राउतबीचको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै डा.कोइरालाले सहमतिको दोस्रो बुँदामा रहेका प्रवधानमा आपत्ति जनाएका हुन् ।
‘सरकार र सिके राउतबीचको सहमति पश्चात नेपालको राजनीति तरंगित बनेको छ । विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनु उपयुक्त हो’, उनले भनेका छन्, ‘सहमतिको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’ (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधीनता एवं अखण्डताको विपक्षमा देखिन्छ ।’
डा.कोइरालाले सीके राउतसँगको सहमति नेपाली जनताको लागि स्वीकार्य नभएको पनि बताए । ‘यसलाई नेपाली जनता कुनै पनि हालतमा स्वीकार गर्नै सक्दैनन्’, उनले भनेका छन्, ‘यस सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको छ ।’
साथै सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा सीके राउत समूहबाट सिर्जित परिदृश्य गम्भीर बनाएको डा.कोइरालाले बताएका छन् ।
डा. कोइरालाले भने, ‘सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा सीके राउत समूहको जुन परिदृश्य देखियो त्यसले हामीलाई गम्भीर मात्रै बनाएको छैन । हामीलाई झस्काएको समेत छ । दुबै पक्षबाट यसको अबिलम्ब निदान हुन जरुरी छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत