प्रचण्डलाई सीके राउतसँग तुलना गर्दा दुःख लाग्योः भीम रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने बताएका छन् ।
रिपोर्टर्स क्लव नेपालमा शनिबार आयोजित साक्षत्कारमा उनले ११ बुँदे सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैधता त प्रदान गर्दैन् ? भन्दै प्रश्न गरे ।
‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन्’, उनले भने, ‘सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’
उनले भने, ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गथेँ । तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन् ।’
‘उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन’, रावलले भनेका छन् ।
रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए ।
उनले भने, ‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो । तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन ।’
प्रधानमन्त्री खड्गप्रसाद ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भूमि टुक्र्याउन पाइँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने, ‘स्वतन्त्र मधेस संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’
उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । उनले भने, ‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’
रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए । उनले भने, ‘उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ, स्वतन्त्र मधेशका सबै मुधाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ । यो निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्छ ।’
उनले आफूले हिजोको ‘सहमति कार्यक्रम’ प्रत्यक्ष प्रशारणमा हेरेको सुनाउँदै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सीके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गरे ।
उनले भने, ‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो । देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो ।’
रावलले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापाको राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुनेपनि बताए । उनले भने, ‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत