काठमाडौंसहित थरुहट जिल्लाहरूमा आन्दोलन घोषणा

काठमाडौं । थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट/थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले शुक्रबार दिउँसो ३ बजे काठमाडौंको (माइतीघर मण्डलामा) लगायत थरुहट तराईका सम्पूर्ण जिल्लाहरूको सदरमुकाम तथा प्रमुख शहरहरूमा शान्तिपूर्ण विरोध र धर्ना गर्ने भएका छन् ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरूले संघीय संसदका लागि निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला भएको विरोधमा शान्तिपूर्ण विरोध एवम् धर्ना गर्ने घोषणा गरेका हुन् ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेका हुन् ।

शुक्रबार हुने बिरोध तथा धर्ना कार्यक्रममा कालोपट्टी बाँध्ने र हातमा तराजु बोक्ने पनि उनीहरूले जनाएका छन् । थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बृहत्त बैठक संघर्षका भावी कार्यक्रम तथा रणनीति तय गर्नको लागि यही फागुन २५ गते शनिबार काठमाडौं उपत्यका र प्रत्येक जिल्लाहरूमा बृहत्त बैठक गर्ने र संघर्षको स्वरुप सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

थारु कल्याणकारिणी सभा केन्द्रिय समितिका महामन्त्री प्रेमीलाल चौधरीले आफूहरू शान्तिपूर्ण रुपमा अधिकार प्राप्तिको लागि संघर्षमा होमिएको बताए । उनले भने, ‘हामी देश टुक्र्याउने र हिंसात्मक लडाइँ गरिरहेका छैनौं । हामी त शान्तिपूर्ण रुपमा अधिकारको लागि लडाइँमा छौं ।’ अधिकार प्राप्ति नभएसम्म संघर्षलाई जारी राख्ने उनले चेतावनी दिएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी केन्द्रीय अध्यक्ष एवम् थरुहट/थारुवान संयुक्त संघर्ष समितिकी सदस्य रुक्मिणी चौधरीले आफूहरूलाई राज्यले ठूलो विभेद र अत्याचार गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘राज्यमा एउटामात्रै संविधान छ, शासन विधि छ, थारु समूदाय हामी पनि यो देशका नागरिक हौं । थरुहट तराईलाई राज्यले उपनिवेशीकरण गरेको छ । हामीलाई गैरनागरिकको दर्जा दिइएको छ । हामीविरुद्ध ठूलो अत्याचार र दमन गरेको छ ।’

२०७२ भदौ ७ गते टीकापुरमा घटेको घट्ना आफूहरूले नघटाएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘यो घट्ना हामीले घटाएका होइनौं भनेर राज्यलाई बारम्बार भन्यौं । तर, राज्यले सुनेन् । अहिले आएर हाम्रा साथीहरूलाई आजीवन जन्मकैद गराएको छ । जबकी यो घट्नालाई हामीले स्वीकारेका छैनौं । के को आधारमा जन्मकैद सुनाइयो ?’

घट्नाबारे अहिलेसम्म तयार पारिएका ८–९ वटा प्रवितेदन तत्काल सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले भनिन्, ‘अहिलेसम्म तयार पारिएका सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । हामीले सोही प्रतिवेदनको आधारमा फैसला सुनुवाईयोस् भनेका थियौं ।’

थारुहरू अझै कति दिन सुतेर ? बस्ने भन्दै उनले प्रश्न गरिन् । चौधरीले भनिन्, ‘थारुहरू जंगलमा सुतेको बाघ हुन । आक्रोशित हुने वातावरण नबनोस् । हामी अब मुखमा दही जमाएर बस्दैनौं ।’

Published : Thursday, 2019 March 7, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया