यी हुन् जन्मोत्सव मनाउन तछाडमछाड गर्ने कम्युनिस्ट नेताहरू, कांग्रेससँग सिक्ने की ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूलाई आफ्नो जन्मदिवस मनाउने रहर तीब्र रुपमा पलाएको छ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्मदिन धुमधामसँग मनाए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय पूर्वअभिनेत्री जयापर्दाले ल्याएको केट काटेर ओलीले जन्मदिवस मनाए । उनलाई शुभकामना दिनेहरूको बालुवाटारमा लामो लाइन नै लाग्यो ।
ओलीले तत्कालीन एमालेको अध्यक्ष हुँदादेखि जन्मदिवस मनाउन थालेका थिए । ओलीले भव्यताका साथ लगातार तीन पटकसम्म आफ्नो जन्मदिवस मनाए । यसअघि पनि उनले जन्मदिवस मनाउँदा चर्चा चलेको थियो ।
अघिल्लो वर्ष जन्मदिवसका दिन ओलीले बालुवाटारमै भोज गरेका थिए । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूलाई केकका साथै विभिन्न परिकारहरू खुवाएका थिए । ओली मात्रै होइनन्, नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो जन्मदिनलाई दिवसका रुपमा मनाउने गरेका छन् ।
प्रचण्डले यस पटक आफ्नै निवास खुमलटारमा जन्मदिवस मनाए । उनलाई शुभकामना दिन पार्टी नेता तथा कार्यकर्ताहरूको खुमलटार निवासमा लामो लाइन थियो । प्रचण्डले पनि आनन्द मानेर जन्मदिवस मनाए ।
जन्मदिवस मनाउनमा प्रदेश ५ का मुख्यमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेल पनि अग्रस्थानमा पर्छन् । पोखरेलले यस पटक आफ्नो जन्मदिवस कोटेश्वरस्थित आफ्नै निवासमा मनाए ।
उनले शुभेच्छुकहरूका साथै पत्नी र छोरीका साथ जन्मदिवस मनाए । पोखरेललाई पनि शुभकामना दिन नेकपाका नेता तथा कार्यकर्ताहरू कोटेश्वरस्थित निवासमै पुगेका थिए । यतिसम्मकी मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को राजधानी बुटवलमा पनि जन्मदिवस मनाएका छन् ।
पछिल्लो पटक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार भव्य रुपमा जन्मदिवस मनाएका छन् । नेता नेपालले आफ्नै निवास कोटेश्वरमा पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग रमाइलोका साथ जन्मदिवस मनाएका हुन् । कम्युनिस्ट पार्टीहरूमा जन्मदिन वा जन्मदिवसको खासै महत्व राख्दैनन् भन्ने स्कुलिङ छ ।
तर, ती मान्यता र कम्युनिस्ट सिद्धान्तहरूलाई भुलेर सत्तारुढ नेकपाका शीर्ष नेताहरूमा जागेको जन्मदिवस मनाउन रहरले कम्युनिस्टहरूमाथि विभिन्न खालका आशंका जन्माइदिएको छ ।
गाउँका कार्यकर्ताहरूलाई आदर्शकका कुरा सिकाउने कम्युनिस्ट नेताहरूले सत्ता र पावरमा जाँदा जन्मदिवस धुमधामका साथ मनाउने कार्यको आलोचकहरूले कुरा काट्ने बाटो भएको छ ।
नेकपाका नेता तथा कार्यकर्ताहरूले फेसबुक र ट्वीटरमा नेतासँग खिचिएको तस्बिर राखेर जन्मदिवसको शुभकामना समेत दिने गरेका छन् । सामाजिक सञ्जालबाट पाइने शुभकामना र बधाइबाट पनि नेकपाका नेताहरू खुसी छन् ।
जन्मदिवस मनाउने कार्यमा नेपाली कांग्रेसका नेताहरू नेकपाका नेताहरू भन्दा धेरै पछाडि छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरूको जन्मदिन कहिले पर्छ भन्ने कुरा कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई नै थाहा छैन ।
सत्तारुढ नेकपाका नेताहरूले जस्तो कांग्रेसका नेताहरूले जन्मदिवस भव्य रुपमा पनि मनाएका छैनन् । नेपाली कांग्रेसका नेताहरूलाई आक्कल झलुक्कल कुनै कार्यकर्ताले सामाजिक सञ्जालबाट शुभकामना र बधाइ दियो भने अलग कुरा हो ।
तर, नेकपाका नेताहरूले जस्ता धुमधामका साथ कांग्रेसका नेताहरूले जन्मदिवस मनाउने रहर गर्दैनन् । यूनाइटेड पोष्ट साप्ताहिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत