कम्युनिस्ट सरकारले शिक्षकको आन्दोलनमा दमन गरे कांग्रेस चुप बस्दैनः खाँण
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले शिक्षकहरूका मागलाई पूरा गर्न कम्युनिस्ट सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै खाँणले शान्तिपूर्ण धर्ना र प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई दमन गर्ने कार्य निन्दनीय रहेको बताए । उनले भने, ‘कम्युनिस्ट सरकारले शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले माग राख्दा दमन गर्छ । प्राज्ञ, वुद्धिजीवीहरू, कलाकार, शिक्षक र प्रध्यापकहरूलाई असंहिष्णु व्यवहार देखाउन कम्युनिस्ट सरकार सक्रिय छ ।’
कांग्रेसका केन्द्रीय सदस्य खाँणले सरकारले आन्दोलनका लागि आह्वान गरेको बताए । ‘कुनै पनि नेपाली नागरिकले पेशा र हक अधिकारका लागि शान्तिपूर्ण रुपमा धर्ना जुलुस सभा गर्न पाउँछन्’, उनले भने, ‘शान्तिपूर्ण अधिकारलाई कुण्ठित गर्न चाहन्छ भने दमन गर्न चाहन्छ भने गम्भीर चुनौती हुनेछ । आन्दोलनरत शिक्षकहरूसँग सम्वाद गरेर समस्याको समाधान गर्नुपर्छ ।’
सरकारले उच्च माध्यमिक विद्यालयका ४–५ हजार शिक्षकहरूलाई पनि बेरोजगार बनाउन खोजेको उनले बताए । कम्युनिस्टहरूले शिक्षकहरूको मागलाई पूरा गर्नुको साटो दमनमा उत्रिएर झन् संकट उत्पन्न गरेको खाँणले बताए ।
‘सम्मान गर्नुपर्ने गुरुहरूलाई दमन गरेर समाजका मर्यादित समुदायका अग्रज गरु–गुरुआमाहरूलाई सम्मान गर्नुपर्ने ठाउँमा सांघातिक आक्रमण गर्नु घोर निन्दनीय छ’, खाँणले भनेका छन्, ‘शिक्षकहरूमाथि सरकारको आक्रमणको कांग्रेसले विरोध गर्दछ । शिक्षकहरूले आफ्ना समस्याहरू गम्भीरतापूर्वक उठाउनुभएको छ । सामुदायिक विद्यालयहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । सुविधा र शिक्षकहरूको दरबन्दी बढाउनुपर्नेमा शिक्षकहरूलाई पद मुक्त गर्ने काम भएको छ ।’
सट्टा शिक्षकहरूलाई घर पठाउने निर्णय सरकारले गरेको भन्दै उनले अस्थायी, राहत र बालविकास शिक्षकहरूलाई नहटाउन आग्रह गरे । उनले शिक्षकहरूका मागको उचित समाधान निकाल्न आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत