ओलीकै जिल्लामा थापाले भने, ‘ओलीजी किन लाचार बन्नुभयो ?’
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा भव्य प्रदर्शन गरेको छ ।
कम्युनिस्ट सरकारले दुई तिहाइको दम्भ लगाइरहेका राप्रपाले ओलीकै जिल्लामा शक्ति प्रदर्शन गरेको हो । बिहीबार झापाको विर्तामोडमा राप्रपाले भव्य सभा समेत गरेको छ ।
‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ अन्तर्गत विर्तामोडमा सभा गरिएको हो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा नेपाल र नेपालीहरूले हिन्दूराष्ट्र र राजसंस्था गुमाएको बताए । उनले भने, ‘हिन्दूराष्ट्र र राजसंस्था गुमाइ सकेका छौँ । केही तत्वले फेरि विद्रोहको कुरा गर्दै छन् । फेरि पनि विद्रोह अस्वीकार्य छ ।’
‘राजसंस्था र हिन्दूराष्ट्र फालेर देशले के पायो ? जनताले के पाए ?’, थापाले प्रश्न गर्दै भने, ‘परिवर्तनले जनतालाई केही दिन सकेन अब पुनर्विचार गर्ने बेला भयो । सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आमसञ्चारले यसबारे बहस प्रारम्भ गर्नुपर्छ ।’
उनले भने, ‘राणाहरू आए–गए, पञ्चायत आयो–गयो, बहुदल आयो–गयो, विगतका कुनै खराब अवस्थामा पनि राष्ट्र विखण्डनको आवाज कहिल्यै उठेको थिएन । तर, राष्ट्रवादी छविका कारण दुई तिहाइ मत सहितको प्रधानमन्त्री हुनु भएका प्रधानमन्त्री केपी ओलीलाई म प्रश्न गर्न चाहन्छु– तपाई यति लाचार किन बनिरहनु भएको छ ? तपाईसंग विगतमा संगै काम गरेको छु, यस्तो निरीह त हुनुहुन्थेन, अहिले कुन शक्तिले तपाईलाई रोकिरहेको छ ?’
–०६२–६३ को परिवर्तन पछि जबर्जस्ती धर्म परिवर्तन गराइएको छ, हिन्दु बौद्ध किराँत समुदाय धर्म परिवर्तनको निशानामा परेका छन्’, उनले भने, ‘धर्म परिवर्तनको नरोकिए हिन्दू, बौद्धिष्ट, किराँत अल्पमतमा पर्ने, देश धार्मिक द्वन्द्वमा फस्ने खतरा छ ।’
उनले १२ वर्षको अवस्थालाई दृष्टिगत गर्दै परम्परागत शक्ति र परिवर्तनकारी शक्तिका बीचमा सामन्जस्य कायम गरिनुपर्ने बताए ।
‘देश अभिभावकविहीन भएको छ, राजादेखि सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गरौं’, अध्यक्ष थापाले भने, ‘संघीयता मुलुकले थेग्न नसक्ने देखियो, जनताको प्रत्यक्ष अभिमत बिना लागू गरिएको संघीयता बारे जनमत संग्रह गरिनुपर्छ, दोहोरो तेहोरो करबाट जनतालाई मुक्ति दिलाउन अबिलम्ब पहल गरियोस् ।’
बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको दोश्रो दिन बिहीबार झापा आइपुगेको हो छ ।
राप्रपाले झापामा वृहत् शक्ति प्रदर्शन गर्दै सभा गरेको छ । सभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, नेताहरू बुद्धिमान तामाङ, राजीब पराजुली, टंक ढकाल, राजेन्द्र लिङ्देन, राम थापा लगायतले धारणा राखेका थिए ।
राप्रपाले शुक्रबार मोरङ जिल्लाको विराटनगरमा सभा गर्दै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत