भ्रष्टाचारविरुद्धको गीत बन्द गर्ने कम्युनिस्ट सरकार पञ्चायत जस्तै भयोः नवीन्द्रराज जोशी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा कम्युनिस्ट सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा जोशीले भने, ‘हामीलाई त अहिले पञ्चायतकालीन शासन जस्तो झल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’
जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए । उनले भने, ‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ? मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’
सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको पनि उनले आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’
सुन काण्ड, वाइड बडी जहाज काण्डलगायत भ्रष्टाचारका दोषीलाई कारबाही नभएकोमा जोशीले सरकारविरुद्ध आक्रोश पोखे । उनले भने, ‘सुन काण्डमा सरकारले किन परिणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा.गोविन्द केसीको विषयमा संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’
सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । उनले भने, ‘ठूलो कुरा गरेर हुँदैन् । काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ । पानीजहाजको सपना देख्नु गलत होइन । तर, तामझाम गर्नुहुँदैन् ।’ उनले मुलुक अहिले रशातालमा रहेको बताए ।
नेता जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त पाठकको भ्रष्टाचारको विषयमा सरकारलाई चार महिना अघि नै जानकारी रहेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यतिका दिनसम्म पनि किन कारबाही गरिएन भन्दै प्रश्न तेर्साए ।
उनले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘तथ्यांक हेर्ने हो भने पनि अहिले नेपालको डुईङ विजनेश ५ अंकले घटेको छ, विदेशी लगानी ६६ प्रतिशतले घटेको छ, यो अत्यन्तै चिन्ताजनक हो ।’
मुलुकमा भ्रष्टाचार संस्थागत भएको हो कि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चिन्ता व्यक्त गरेको सुनाउँदै उनले यो ठूलो समस्या भएको बताए ।
उनले सुशासन र सदाचार अब कहाँ छ भनेर खोज्ने दिन आउनसक्नेपनि बताए । जोशीले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत