मन्त्री र कर्मचारीहरूले कमिशन मागेपछि भागभागः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका कारण मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी काम छोडेर भागेको बताएका छन ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिउर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले सरकारले कम्पनी सञ्चालन गर्न आएका व्यक्तिहरूलाई गैरकानूनी ढंगले धरपकड गरेको बताए । पक्राउ गरेपछि उनीहरू काम छाडेर भागेको कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सरोकारवाला मन्त्रालयका मन्त्री, उच्च अधिकारीबाट कमिसनको खेल भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको बताए ।
विकास र सम्वृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठूलो कमिसनको खेलमा लागेको उनले बताए । सांसद पाण्डेले कम्युनिस्ट सरकारलाई इमान्दारिता र पारदर्शिता देखाउन चुनौती दिए ।
मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनी भागेको र नयाँ कम्पनी खडा गरी तत्काल निर्माणको जिम्मा लगाउने तयारी भैरहेको विषयमा यथार्थ जानकारी सदनलाई गराउन कांग्रेसका सांसदहरूको माग थियो ।
उनीहरूले कालो सूचीमा परेको कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा दिने काम भएकोमा पनि आलोचना गरे ।
बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का सम्झौता रद्द गरी स्वदेशी लगानीमा निर्माण गर्ने गरी काम अघि बढाउन उनले माग गरेका छन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले पनि मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
सांसद दिलकुमारी रावलले मेलम्ची खानेपानी आयोजनाको निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसीले एकातर्फी काम छोडेर हिँडेको भन्नेबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन ।
आयोजना निर्माणको समय लम्बिदै गइरहेका बेला एकाएक निर्माण कम्पनीले काम छोडेको खबरले सबैलाई दुःखी र निरास बनाएको रावलको भनाइ छ ।
उनले मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरण तोडिएको र पुनः कायम गर्नेबारे सञ्चार माध्यममा आएको खबरमाथिको सत्यतथ्य सदनलाई जानकारी गराउनसम्बन्धी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरको गम्भीर ध्यानाकर्षण गराइन ।
उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणमा परी साउन यता ५ जनाको मृत्यु भइसकको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन । उनले क्षतिपूर्तिको कानून व्यवस्था अव्यवहारिक भएकाले त्यसलाई सहज बनाउन माग गरिन ।
कांग्रेसका सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले प्रारम्भीक प्रतिवेदन सरकारलाई बुझाएको भन्ने बारेमा शिक्षा मन्त्रीले सदनमा उपस्थित भएर सत्य तथ्य जानकारी गराउन माग गरे ।
उनले प्रारम्भिक दस्तावेज आफूहरूले पनि हेर्न पाउनुपर्ने र संसदमा छलफलको विषय बनाइनुपर्ने माग गरे ।
सांसदहरूले शिक्षकहरूको नियुक्ति, पाठ्क्रम, प्रविधि, शिक्षकको तलब सुविधमा के कस्तो व्यवस्था सुझाइएको छ भन्ने विषय सार्वजनिक सरोकारको विषय भएकाले सदनमा त्यसबारे तत्काल जानकारी गराउनुपर्ने माग गरे ।
सरकारले निजी विद्यालय सञ्चालनमा रोक लगाउन खोजेको भन्दै उनले त्यसो गरियो भने सबैभन्दा ठूलो हानी हुने भन्दै सांसदहरूले शिक्षामा राज्यको दृष्टिकोण स्पष्ट ढंगले आउनुपर्ने बताए ।
उनीहरूले भने, ‘निजी विद्यालय सञ्चालन गर्न नदिने गरी आयोगले प्रतिवेदन तयार पारेको भन्दै उहाँले संविधानको प्रतिकुल प्रभाव पर्ने गरी निर्णय गर्न मिल्छ कि मिल्दैन ?’
उनीहरूले निजी, सार्वजनिक र सहकारीको सहयात्राको व्यवस्था संविधानमा नै गरिएको भन्दै त्यसको मर्म विपरीत आयोगले प्रतिवेदन तयार पार्न नसक्ने दावी गरे ।
नेपाली कांग्रेसका सांसद जीवन बुढाले कालिकोटको पलातामा भएको आगलागीको घटनाप्रति गम्भीरता देखाएर पुनर्निर्माणको घोषणा गर्न सरकारसँग माग गरे ।
नेकपाका बलरामप्रसाद बास्कोटाले सरकारसँग प्रतिपक्षी दल झस्कने अवस्था नरहेको बताए । उनले हल्लाको भरमा नहिँड्न कांग्रेसलाई आग्रह गरे ।
उनले संसदीय सत्तापक्ष एक्लै र प्रतिपक्षी अर्को भन्ने नभएको भन्दै समाजवाद उन्मुख बाटोमा प्रणका साथ अघि बढ्न आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत