बेथिति गरियो भने हामीले देश चलाउन सक्दैनौं है साथीहरू : रास्वपा नेता डा.रेग्मी

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभाका सांसदसमेत रहेका केन्द्रीय सदस्यका उम्मेदवार डा.धनञ्जय रेग्मीले महाधिवेशनको बेथिति हेर्दा रास्वपाले देश चलाउन नसक्ने देखिएको बताएका छन् ।

डा.रेग्मीले पत्रकारहरूसँग भने, ‘यति बेथिति गरियो भने हामीले देश चलाउन सक्दैनौं है साथीहरू हो ।’ उनले आफूले महाधिवेशन व्यवस्थापनका विषयमा यति बोलिसकेपछि चुनाव हार्ने पनि बताएका छन् ।

‘मैले जुन हिसाबले हाम्रो पार्टी भनिराखेको थिएँ, जुन पदाधिकारी छन् तिनले अन्तर्राष्ट्रिय जगतमा रास्वपाको बेइजत गराएका छन्, मैले यत्ति नै भनेँ । यति भनेपछि म त सिद्धिएँ, मलाई मत दिँदैनन् म हारिहाल्छु,’ उनले भने ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा महाधिवेशन गर्ने भने पनि आज बिहीबार पनि महाधिवेशन जारी छ ।

महाधिवेशनमा प्रतिनिधिहरूलाई खाना खाजाको व्यवस्था गरिए पनि बास आफैले बस्नुपर्ने नियम छ । स्याङ्जा १ बाट चुनाव जितेका डा.रेग्मीले महाधिवेशन प्रतिनिधिलाई बासलगायत व्यवस्थापनमा सांसदले मात्रै हेर्न नसक्ने बताएका छन् । महाधिवेशनमा मतदान ढिलाइ हुँदा केही प्रतिनिधि घरसमेत फर्केका थिए ।

३ दिने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू चितवन आए पनि महाधिवेशन लम्बिएर ५ दिन पुगिसकेको छ ।

Published : Thursday, 2026 June 25, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया