पत्रकारहरू सुध्रिनुपर्छ, सुरक्षाकर्मीले बोकेको झोला मेरो होइन : प्रधानमन्त्रीकी पत्नी सविना काफ्ले

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)की पत्नी सविना काफ्लेले सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नरहेको बताएकी छिन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत सविनाले सुरक्षाकर्मीले बोकेको झोला सुरक्षाकर्मीकै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘चितवनको एउटा विशेष बसाइ पछि आज (बुधबार) काठमाडौं फर्किने क्रममा मेरो परिवारको एउटा फोटोलाई लिएर मेरो ब्याग सुरक्षाकर्मीले बोकेको भन्ने समाचार देखेपछि अचम्मित छु… अनि दुखित पनि छु ।’

‘समाचार लेख्नुअघि घटनाको सत्यता बुझ्न जरुरी छ जस्तो लाग्छ । किनकि जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ,’ सविनाले लेखेकी छिन् ।

‘महिलाको चरित्र हत्या गरेर चर्चामा आएको मिडियाबाट यो समाचारको सुरुवात गरिएको देखेपछि यो नियोजित छभन्ने मैले बुझेँ,’ सविनाले भनेकी छिन् ।

‘पुराना र नयाँ उस्तै उस्तै भन्दै गरिएका टिप्पणी सबै हेरिरहेकी छु… हुन त विगत केही समयदेखि मलाई पुराना (श्रीमती) पात्रहरूसँग दाँजेर अरू पनि समाचारहरू बनाइएको छ र कमेन्टहरू पनि गरिराखिएको छ जुन कुरामा मलाई खासै बोल्नु परेको जस्तो लागेको थिएन तर, आजको ब्याग बोकेको समाचारले म चुप बस्न हुँदैन जस्तो लाग्यो,’ सविनाले भनेकी छिन् ।

‘नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ… देशको चौथो खम्बा भनिएको मिडियाको समाज निर्माण र राजनीतिक विश्लेषणमा एकदमै ठूलो भूमिका हुन्छ,’ सविनाले भनिन्, ‘गैरजिम्मेवार ढंगले यसरी समाचार बनाएर कसैको मानहानी गर्नु गैरकानूनी हो । जुन सुधारिन जरुरी छ ।’

उनले भनिन्, ‘हुन त म सार्वजनिक मान्छे हो, यो सबै कुरा प्रेस काउन्सिलमार्फत कुनै कानूनी प्रक्रिया, मुद्दा मामिलामा लगेर गर्नु पर्ने हो । तर, म एउटा आम नागरिकको हैसियतले आज यो कुरा गर्दैछु । किनभने यो एकदमै सानो कुरा हो । र, यस्तो सानोतिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा पनि होइन ।’

‘बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानीका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ,’ सविनाले भनिन्, ‘यस्ता समाचार लेख्ने लेखनमा संलग्न पत्रकारहरूले सुधारिनु पर्छ भन्न चाहन्छु । त्यसैले यी कुराहरू लेखेँ ।’

Published : Thursday, 2026 June 25, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया