बिचौलियासँग कनेक्सनको आशंकामा पूर्व अर्थमन्त्री पौडेल पक्राउ, घरमा पनि छापा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले पूर्व अर्थमन्त्री पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पौडेललाई सोमबार साँझ सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ स्थित होटल शुभबाट पक्राउ गरिएको हो ।

आइतबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत गएका थिए । कर्णालीका प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा चलिरहेको सोही कार्यक्रमस्थलबाट प्रहरीले पौडेललाई पक्राउ गरेको छ ।

पौडेलसँगै कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापा प्रमुख अतिथि थिए । कार्यदलका सदस्यहरू उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल पनि बैठकमा थिए । पौडेललाई पक्राउ गर्ने समयसम्म कर्णालीका १० मध्ये आठ जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा बोलेका थिए ।

पूर्व अर्थमन्त्री पौडेललाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ । पौडेललाई काठमाडौं पठाउन नेपालगञ्ज लगिएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेललाई पक्राउ गर्नुअघि पौडेलको ललितपुरको भैँसेपाटीस्थित निवासमा छापा मारेको थियो ।

पौडेललाई प्रहरीले काम छभन्दै कार्यक्रमस्थलबाट बाहिर निकालेर पक्राउ गरेको थियो । शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

पौडेलनिकट व्यापारीहरू पनि अहिले सरकारको शंकाको घेरामा परेका छन् । यो घटनामा सबैभन्दा नजिकबाट तानिएका व्यापारी हुन्, दीपक भट्ट । सम्पत्ति शुद्धीकरणको मुद्दामा सरकारले गिरफ्तार गरेका भट्ट यतिबेला पुर्पक्षका लागि जेल चलाउन भएका छन् । अहिले भट्ट डिल्लीबजार कारगारमा रहेका छन् ।

भट्ट जेल चलान भएसँगै पौडेलको गिरफ्तारी भने रहस्यमा परेको छ । उच्च सरकारी स्रोतहरूले भने पौडेलको गिरफ्तारीसँग भट्ट कनेक्सन पनि जोडिएको दाबी गरेका छन् ।

अनुसन्धानका क्रममा भट्टसँग पौडेलको पुरानो संगत र उनी अर्थमन्त्री हुँदा जोडिएका केही निर्णयहरू पनि उक्त कनेक्सन जोड्ने कडीको रूपमा रहेको स्रोतको दाबी छ । भट्टको व्यापार र उच्च राजनीतिक सम्बन्ध भने एमालेका तत्कालीन नेता वामदेव गौतममार्फत अघि बढेको हो । गौतमपछि भट्टको गतिलो उठबस पौडेलसँग नै रहेको स्रोतको दाबी छ ।

पौडेल अर्थमन्त्री भएका बेलामा पुँजीबजारले हरियो बत्ति बाल्नुमा पनि भट्टको भूमिका रहेको स्रोतहरूले दाबी गरेका छन् । भट्टसँग जोडिएका र उनीनिकट कम्पनीहरूको कारोबारले सर्किट नाघ्ने परिस्थितिको निर्माण गरेर भट्टले पौडेललाई अर्थमन्त्रीमा स्वागतको अर्थ लगाउने गरिएको थियो ।

Published : Monday, 2026 June 22, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया