गगनजीले कांग्रेसलाई मिलाउन सक्नुभएन, उहाँलाई गरेको समर्थनप्रति आत्मालोचना गर्छु : मिराज ढुङ्गाना

काठमाडौं । जेनजी आन्दोलनका अगुवा नेता मिराज ढुङ्गानाले गगनकुमार थापालाई नेपाली कांग्रेस एक बनाएर सुधार गर्न सुझाव दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत ढुङ्गानाले गगन थापा जस्तो व्यक्तिले आफ्नै पार्टीलाई मिलाउन नसकेको बताए । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि देखाएको सहानुभूति र माया, प्रेमलाई ब्याङ्ग्य गर्दै ढुङ्गानाले गगनलाई आफूले बिगतमा गरेको समर्थनप्रति आत्मालोचना गरेका छन् ।

ढुङ्गानाले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको आज (आइतबार) महाधिवेशन रहेछ, यो लोकतान्त्रिक पर्वपछि पार्टी थप संगठित र सुदृढ भएर आउँछ भनेर आशाको समर्थन र शुभकामना म राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेज्यूलाई दिन चाहन्छु ।’

‘गगन थापाज्यूले पनि यस विषयमा शुभकामना व्यक्त गरेको मैले सामाजिक सञ्जालबाट थाहा पाएँ,’ जेनजी आन्दोलनका अगुवा ढुङ्गानाले लेखेका छन्, ‘तर गगन थापाज्यूलाई वहाँले लेख्नु भएकै राष्ट्रिय स्वतन्त्र पार्टीको लागिको सन्देश ‘फरवार्ड’ गर्न चाहन्छु ।

‘पार्टी सुदृढ र संगठित गर्ने आवश्यकता तपाईलाई झनै बढी देखेँ । गगन थापाज्यूलाई मैले व्यक्तिगत रूपमा चिनेको त छैन तर, बच्चा हुँदादेखि उहाँको प्रस्तुति टि.भी. र इन्टरनेटमार्फत हेर्दै आएको थिएँ र कांग्रेस पार्टीप्रति मेरो कुनै झुकाव नभए पनि व्यक्तिगत रूपमा गगनज्यूलाई बहुदलीय व्यवस्थामा चाहिने मान्छे मान्थेँ,’ ढुङ्गानाले भनेका छन् ।

‘यही आशासहित मैले गगन थापाज्यूले बनाउन खोज्नुभएको सुदृढ दललाई आशाको समर्थन पनि दिएको हो । तर, आज यो बहुदलीय व्यवस्थामा म एउटा राष्ट्रिय स्वतन्त्र पार्टी मात्र देख्छु,’ जेनजी आन्दोलनका अगुवा नेता ढुङ्गानाले भने ।

‘गगन थापाले पार्टीलाई मिलाउन सक्नुभएन, यो म जस्तो बहुदलीय व्यवस्था र देशको लोकतन्त्र मान्ने व्यक्तिको लागि दुःखको कुरा हो,’ ढुङ्गानाले भने, ‘पुरानो एमाले–कांग्रेसको विकल्प पुरानै माले–कांग्रेस हुन सक्दैन ।’

‘पुरानासँग त्यो नैतिक आकर्षण छैन र पुरानोलाई सुधारेर नयाँ पर्न नसकेको देख्दा मैले गगन थापाज्यूलाई गरेको समर्थनप्रति मैले आत्मालोचना गर्ने बाहेक विकल्प नै देखिनँ,’ ढुङ्गानाले भने, ‘फेरि भन्छु, पुरानो एमाले–कांग्रेसको विकल्प पुरानै एमाले–कांग्रेस हुन सक्दैन । कुनै नयाँ राष्ट्रवादी शक्तिले यो भ्याकुम भर्नै पर्ने देख्छु ।’

Published : Sunday, 2026 June 21, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया