पोखरा विमानस्थलको करोडौं घोटालामा संलग्न ठूला माछाहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ । रेग्मीका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपियाँ बिगो माग दावी गरिएको छ ।
मुद्दामा तत्कालीन सचिव अधिकारीका अलावा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, तत्कालीन निर्देशक ध्रुवदास भोछिभोयाको हकमा श्रीमती मुनादेवी श्रेष्ठ, तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैँजु, लेखा अधिकृत प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत सबिन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योति थापा, तत्कालीन अधिकृत राजाराम चौधरीलाई पनि प्रतिवादी बनाइएको छ ।
परामर्शदाता कम्पनी ईआरएमसी–ए नट–स्लेट जेभी तथा त्यसको मुख्य व्यक्ति भई काम गर्ने यमबहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी तथा प्रमोद दवाडी र निर्माण व्यवसायी चाइना सीएएमसी इन्जिनियरिङ र त्यसको मुख्य व्यक्ति भई काम गर्ने अध्यक्ष वाङ बो तथा पोजेक्ट म्यानेजर याङ झियाङलाई पनि प्रतिवादी बनाइएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा ठेक्का सम्झौता हुँदा परामर्शदाताको खर्च सोही ठेक्काबाट गर्नुपर्नेमा नागरिक उड्डयन प्राधिकरणले छुट्टै बजेट शीर्षकबाट खर्च गरेको भन्दै आयोगले मुद्दा दायर गरेको छ ।
खरिद सम्झौताको सर्त र प्रावधान अनुरूप २८ लाख अमेरिकी डलरबाटै परामर्शदाताको खर्च गर्नुपर्नेमा छुट्टै शीर्षकबाट प्राधिकरणले ५० करोड ३४ लाख ४० हजार ६९६ रुपियाँको बढी लागत अनुमान स्वीकृत गरी दोहोरो खर्च गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।
प्राधिकरणको सम्पत्तिबाट अतिरिक्त तथा दोहोरो बजेट खर्च गराई सो सम्पत्तिको हानि, नोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले प्राधिकरणको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत नभएकै अवस्थामा खर्च गरेको पाइएको अख्तियारले जनाएको छ ।
सार्वजनिक खरिद नियमावली विपरीत र विमानस्थल निर्माणको खरिद सम्झौता विपरीत हुने गरी राष्ट्रियस्तरको मात्र प्रतिस्पर्धा गराई परामर्श सेवा खरिद प्रक्रिया अघि बढाइएको अभियोगपत्रमा उल्लेख छ ।
ooo
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८२।१२।०८ गते ।
प्रेस विज्ञप्ति
विषय: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना, ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. र परामर्शदाता ERMC/A-not/Slate JV उपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा China Exim Bank को ऋण सहयोगबाट Engineering, Procurement and Construction (EPC) Model मा निर्माण हुनेगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा सुपरीवेक्षण परामर्शदाता (Design Review and Construction Supervision Consultant) आवश्यक पर्ने भनी बोलपत्र आह्वान गर्दाकै बखत स्वीकृत भएको लागत अनुमान र Bidding Document को Price Schedule को Item No.1.2 मा Provisional Sum को रूपमा २८,००,०००.०० अमेरिकी डलर (मू.अ.कर बाहेक) राखेको देखिएको। नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी China CAMC Engineering Co.Ltd. बीच २२ मे २०१४ मा Engineering, Procurement and Construction (EPC) Model को खरिद सम्झौता हुँदा समेत उक्त Item No.1.2 को लागि Provisional Sum को रूपमा २८,००,०००.०० अमेरिकी डलर (मू.अ.करबाहेक) नै राखेको देखिएको। २१ मार्च २०१६ मा ऋण सम्झौता भई उक्त ऋण सम्झौता ३१ मे २०१७ देखि मात्र Effective हुने भनी दातृ निकायले पत्राचार गरेको देखिँदा सो पश्चात मात्र खरिद सम्झौता समेत Effective भई आधिकारिक रूपमा आयोजना निर्माणको कार्य कार्यान्वयनमा गएको देखिएको। तर सोही खरिद सम्झौताको Price Schedule को Item No.1.2 मा उल्लिखित परामर्शदाता नियुक्तिको लागि Provisional Sum को रूपमा राखिएको २८,००,०००.०० अमेरिकी डलर (मू.अ.कर बाहेक) उक्त शीर्षकमा खर्च नगरी नगराई, साथै सम्झौताको उक्त शीर्षकमा रकम रहेको तथा सोही शीर्षकवाट नै खर्च गर्नुपर्ने भन्ने विषय थाहा जानकारी हुँदा हुँदै बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ र नेपाल नागरिक उड्डयन प्राधिकरण/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बदनियतले नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै बजेट शीर्षकबाट खर्च गर्नेगरी सोही कार्यको लागि आयोजना कार्यान्वयन प्रभावकारी नै नभएको अवस्थामा मिति २०७३/०५/१७ मा रू.५०,३४,४०,६९६।–(मू.अ.कर र कन्टिजेन्सी सहित) को लागत अनुमान स्वीकृत गरी गराई परामर्श सेवाको खरिद प्रक्रिया अगाडि बढाउन निर्णय गरी गराई ७ सेप्टेम्बर २०१६ (मिति २०७३/०५/२२) मा आशयपत्र (Expression of Interest-EoI) माग गर्ने सार्वजनिक सूचना प्रकाशित गरेको देखिँदा परामर्शदाता नियुक्ति सम्बन्धी उक्त निर्णय र खरिद प्रक्रियाको सुरूवात नै बदनियतपूर्ण रहेको तथ्य पुष्टि भएको देखिएको।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौता भित्र रहेको कार्य सम्झौताका सर्त र प्रावधान अनुरूप २८,००,०००.०० अमेरिकी डलरबाटै गर्नु/गराउनु पर्नेमा उक्त कार्य सम्झौता बमोजिम नगरी नगराई अस्वभाविक रूपमा बढी लागत अनुमान रू.५०,३४,४०,६९६।–तयार गरी गराई सार्वजनिक सँस्था नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पत्तिबाट अतिरिक्त तथा दोहोरो बजेट खर्च गराई सो सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले प्राधिकरणको बार्षिक बजेट तथा कार्यक्रम स्वीकृत नभएकै अवस्थामा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ को उपनियम (१), नियम ४० को उपनियम (२क), नियम ७० को उपनियम (२) र विमानस्थल निर्माणको खरिद सम्झौता विपरीत हुनेगरी राष्ट्रियस्तरको मात्र प्रतिस्पर्धा गराई परामर्श सेवा खरिद प्रक्रिया अगाडि बढाई सोको निरन्तरता स्वरूप परामर्शदाता ERMC/A-not/Slate JV सँग ७ मे २०१८ (मिति २०७५/०१/२४) मा रू.४२,८९,३६,७००।–(मू.अ.कर समेत) सम्झौता रकम कायम गरी खरिद सम्झौता गरे गराएको देखिएको। यसरी EPC Contract Agreement अनुसार २८,००,०००.०० अमेरिकी डलरबाटै परामर्शदाता नियुक्त गर्नुपर्ने र उक्त कार्यको लागि प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने बेहोरा थाहा जानकारी हुँदाहुँदै परामर्शदाता ERMC/A-not/Slate JV लाई बिल नं. १ देखि ७८ सम्मको रू.४०,६८,२६,५६८।५९ (मू.अ.कर सहित) भुक्तानी समेत गरी गराई नेपाल नागरिक उड्डयन प्राधिकरणको थप सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरे गराएको देखिएको।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना Turnkey/Fixed Price/Lump Sum मा आधारित EPC Model मा निर्माण गर्नेगरी सम्झौता भएको देखिएको। Contract Agreement ले नै Scope of Work भित्रका कार्यहरू निर्माण व्यवसायी China CAMC Engineering Co.Ltd. ले Fixed Price/Lump Sum Price मा सम्पन्न गरी Turnkey को रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान राखेको देखिएको। Contract Agreement मा रहेको Project Description and General Information ले नै “The Contractor shall have complete responsibility to make the airport fully operational without compromising any facilities as a full fledge regional International airport” भनी निर्माण व्यवसायीको दायित्वलाई किटान गरेको छ। सोही Contract Agreement को Price Schedule को Item No.1.2 मा Supervision Consultant को लागि २८,००,०००.०० अमेरिकी डलर लाग्ने भनी किटान गरेको छ। यसरी Supervision Consultant को लागि गर्नुपर्ने खर्चको व्यवस्थापन पनि सोही Contract भित्रैबाट हुनुपर्नेमा सोको विपरीत Supervision Consultant वापतको रकम प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने र जालसाजीपूर्ण रूपमा घुमाउरो बाटो प्रयोग गरी गराई ठेकेदार कम्पनी China CAMC Engineering Co.Ltd. का प्रतिनिधि, परामर्शदाता कम्पनी ERMC/A-not/Slate JV का प्रतिनिधि र Employer का प्रतिनिधि (प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बद्ध राष्ट्रसेवक कर्मचारी) को मिलेमतोमा Contract Agreement मा रहेका सर्त/प्रावधान विपरीतको Updated/Modified Price Schedule तयार गरी गराई परामर्शदाता नियुक्तिको लागि छुट्याएको २८,००,०००.०० अमेरिकी डलर मध्ये २७,९०,०००.०० अमेरिकी डलर निर्माण व्यवसायी कम्पनी China CAMC Engineering Co.Ltd. लाई नै भुक्तानी गर्ने/गराउने प्रपञ्च रचेको तथ्य देखिएको। सोही प्रपञ्च र योजना मुताविक निर्माण व्यवसायी China CAMC Engineering Co.Ltd. ले खरिद सम्झौताको Price Schedule को Item No.1.2 मा उल्लिखित Consultant (International and Domestic as required) to be appointed by the CAAN for the supervision and monitoring the Contractor’s Design, Drawings and Construction works as specified को लागि Provisional Sum को रूपमा राखिएको २८,००,०००.०० अमेरिकी डलरलाई घटाई १०,०००.०० अमेरिकी डलर कायम गर्ने र बाँकी २७,९०,०००.०० अमेरिकी डलर अन्यत्र खर्च गर्ने प्रस्ताव सहित Contract Agreement मा कहिँ कतै पनि Provision नरहेको Updated/Modified Price Schedule तयार गरी स्वीकृतिको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको देखिएको। ठेकेदार कम्पनी China CAMC Engineering Co.Ltd. ले विमानस्थल निर्माणको क्रममा स्वीकृत Detail Engineering Design अनुसार कायम भएको Quantity को आधारमा Updated/Modified Price Schedule तयार गरेको भने तापनि Engineering Design बाट Quantity घटेको Items मा साविककै (बढी Quantity अनुसारकै बढी) रकम राखी एवं Engineering Design बाट Quantity बढेको Items मा प्रति इकाइ दरले गणना गरी बढी रकम देखाई दोहोरो मापदण्डको आधारमा तयार भएको उक्त Updated/Modified Price Schedule स्वीकृतिको लागि प्राधिकरणलाई अनुरोध गरेकोमा परामर्शदाता ERMC/A-not/Slate JV ले सोलाई सिफारिस गरी प्राधिकरणका राष्ट्रसेवक कर्मचारी तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन सचिव समेत संलग्न रही दस्तखत गरी Update Price Schedule and Revised Schedule of Payment स्वीकृत/प्रमाणित गरी कार्यान्वयन समेत गरी गराएको देखिएको।(दुरुपयोग भएको बिगो रकमको गणना तालिका र फ्लोचार्ट यसप्रकार छ)
हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको बिगो र असुल हुनुपर्ने रकम गणना तालिका
सि.नं. | विवरण | रकम | कैफियत | |
| १ | (क) | परामर्शदाता नियुक्तिको लागि EPC Contract मा रहेको अधिकतम लागत मूल्य २८,००,०००.०० (मू.अ.करसहित ३१,६४,०००.00) अमेरिकी डलरको ने.रू. | रू.३३,९४,३३,९२0।-[1] | परामर्शदाता नियुक्त गरी ऋण सम्झौता रकमबाट भुक्तानी गर्नु पर्ने |
| (ख) | परामर्शदाता नियुक्तिको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक बजेटबाट व्यहोर्ने गरी तयार गरेको लागत मूल्य | रू.५०,३४,४०,६९६।-[2] | प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने | |
| (ग) | नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक बजेटबाट भुक्तानी गर्ने गरी भएको परामर्श सेवाको सम्झौता रकम | रू.४२,८९,३६,७००।–[3] | प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने जान्दा जान्दै सोही बजेटबाट खर्च गर्ने गरी सम्झौता गरेको | |
| (घ) | परामर्श सेवाको हालसम्म भुक्तानी भएको रकम | रू.४०,६८,२६,५६८।५९ | प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने जान्दा जान्दै सोही बजेटबाट भुक्तानी गरेको | |
| (ङ) | हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको रकम (ग-क) | रू.८,९५,०२,७८०।- | ठेक्का सम्झौतामा उल्लिखित लागत अनुमान भन्दा बढी रकम उल्लेख गरी सम्झौता गरेको | |
| (च) | असुल उपर हुनुपर्ने रकम (घ-क) | रू.६,७३,९२,६४८।५९ | ठेक्का सम्झौतामा उल्लिखित लागत अनुमान भन्दा बढी रकम भुक्तानी गरेको | |
| २ | EPC Contract को Price Schedule को Item no.1.2 मा उल्लिखित परामर्शदाता नियुक्तिको कार्य नगरी सम्झौताका सर्त विपरीत Revised Price Schedule स्वीकृत गरी/गराई खर्च गरेको २७,९०,०००.०० (मू.अ.कर सहित ३१,५२,७००.00) अमेरिकी डलर बराबरको रकम | रू.३७,२०,८१,६५४।-[4] | ||
| ३ | जम्मा हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको बिगो रकम ( १ङ +२) | रू.४६,१५,८४,४३४।- | ||
| ४ | जम्मा असुल उपर हुनुपर्ने रकम (१च + २) | रू.43,94,74,302।59 | ||
हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको बिगो र असुल हुनुपर्ने रकम गणना तालिका
यसरी प्रतिवादीहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिब गौतम र राजन पोखरेल, प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुबदास भोछिभोया, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक एवं PICS प्रमुख चाँदमाला श्रेष्ठ र राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक एवं TSS प्रमुख प्रवीण न्यौपाने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सबिन फुयाल, परामर्शदाता कम्पनी ERMC/A-not/Slate JV तथा सो JV का मुख्य व्यक्तिहरू यम बहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायीChina CAMC Engineering Co., Ltd र सोका मुख्य भई काम गर्ने व्यक्तिहरू Chairman Mr.Wang Bo र Project Manager Mr.Yang Zhigang समेतको आपसी मिलेमतो, योजना र संलग्नतामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का नं. 01/ATPDD/PRIA/2011/12 को Engineering, Procurement and Construction (EPC) Contract को Scope भित्र नै सम्झौताको Price Schedule को Item No.1.2 मा Consultancy Service का लागि राखिएको Provisional Sum शीर्षकको रकम 28,00,000 अमेरिकी डलरबाट नै उक्त Consultancy Service खरिद कार्य गर्नु गराउन पर्ने तथा उक्त शीर्षकमा खर्च नभएमा सो बराबरको रकम सम्झौता मूल्यमा घटाउनु पर्ने प्रावधान भएकोमा सो नगरी नगराई प्रतिवादीहरूले बद्नियत राखी परामर्शदाता (Consultancy Service) नियुक्ति गर्ने कार्यको लागि ठेक्का सम्झौताको सर्त बाहिरबाट अर्थात् नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै बजेटबाट भुक्तानी गर्नेगरी रू.४२,८९,३६,७००।–(अक्षरेपि बयालीस करोड उनान्नब्बे लाख छत्तिस हजार सात सय) मा परामर्शदाता कम्पनी ERMC/A-not/Slate JV सँग सम्झौता गरी गराई उक्त कम्पनीलाई हालसम्म रू.४०,६८,२६,५६८।५९ (अक्षरेपि चालीस करोड अठ्सठ्ठी लाख छब्बीस हजार पाँच सय अठ्सठ्ठी रूपैया उनान्साठ्ठी पैसा) रकम बद्नियत राखी सम्झौताको सर्त तथा प्रचलित कानुन विपरीत भुक्तानी गरे गराएको, त्यसैगरी सोही परामर्शदाता ERMC/A-not/Slate JV समेतको सिफारिस तथा संलग्नतामा सम्झौताको सर्त तथा प्रचलित कानुन विपरीत तयार गरिएको Updated/Modified Price Schedule/BOQ को नाममा सोही निर्माण सम्झौताको Price Schedule को Item No.1.2 मा सुपरिवेक्षण परामर्शदाता (Consultancy Service) नियुक्तिको लागि रहेको Defined Provisional Sum वापतको २८,००,०००.०० अमेरिकी डलरलाई प्रतिवादीहरूले गैरकानुनी तवरबाट घटाई १०,०००.०० अमेरिकी डलर कायम गर्ने र बाँकी २७,९०,०००.०० अमेरिकी डलर रकम Provisional Sum सँग असम्बन्धित तथा सम्झौता बमोजिम खर्च नै गर्न नमिल्ने अन्य शीर्षक/क्रियाकलापमा खर्च गर्ने गरी स्वीकृत गरी गराई रू.३७,२०,८१,६५४।–(अक्षरेपि सैँतीस करोड बीस लाख एकासी हजार छ सय चवन्न) रकम समेत सम्झौताको सर्त तथा प्रचलित सार्वजनिक खरिद कानुन विपरीत बदनियत राखी भुक्तानी दिई लिई नेपाल सरकार/नेपाल नागरिक उड्डयन प्राधिकरण/सार्वजनिक संस्थाको जम्मा रू.४६,१५,८४,४३४।- (अक्षरेपि छयालीस करोड पन्ध्र लाख चौरासी हजार चार सय चौत्तीस) बराबरको सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरे गराएको तथ्य माथि विवेचित आधार प्रमाणहरूबाट पुष्टि भएको देखिएको। उल्लिखित प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित भ्रष्टाचारजन्य कसुर भएको हुँदा उल्लिखित भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरू उपर देहायबमोजिमको कसुरमा देहायबमोजिम सजाय गरी बिगो असुल उपरसमेतको मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय
| सि.न. | प्रतिवादीको नाम थर पद र कार्यालय | बिगो रकम | कसुर तथा सजाय मागदाबी |
| संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी | रू.४६,१५,८४,४३४।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन साथै, सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजिब गौतम | रू.८,९५,०२,७८०।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन साथै, सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेल | रू.४६,१५,८४,४३४।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन साथै, सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल | रू.८,९५,०२,७८०।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ | रू.६,७३,९२,६४८।59 | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिनु पर्नेमा प्रतिवादीको मृत्यू भईसकेकोले विगो असुल उपर गर्नको लागी मात्र प्रतिवादी बनाईएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरब आयोजनाका तत्कालीन आयोजना निर्देशक तथा प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी | रू.४६,१५,८४,४३४।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरब आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल | रू.८,९५,०२,७८०।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरब आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने | रू.४६,१५,८४,४३४।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरब आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ | रू.४६,१५,८४,४३४।- | ||
| पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी | रू.४६,१५,८४,४३४।- | ||
| नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सबिन फुयाल | जनही रू.८,९५,०२,७८०।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
| नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा | रू.४६,१५,८४,४३४।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। | |
| पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी | रू.४६,१५,८४,४३४।- | ||
| पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको परामर्शदाता कम्पनी ERMC/A-not/Slate JV तथा उक्त JV को मुख्य भई कार्य गर्ने यम बहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी र प्रमोद दवाडी | रू.४६,१५,८४,४३४।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसुरदारहरूलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाँक्याश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। | |
| निर्माण व्यवसायी China CAMC Engineering Co., Ltd र सोका मुख्य भई काम गर्ने Chairman Mr. Wang Bo एवं Project Manager Mr. Yang Zhigang | रू.४६,१५,८४,४३४।- |
प्रवक्ता
सुरेश न्यौपाने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि परामर्श सेवा खरिद गर्दा प्रतिवादीहरूले गरेका कानुन विपरीत एवं बदनियतपूर्ण कार्यहरू:
- नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकार प्राप्त अधिकारी/निकायबाट स्वीकृत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत अनुमान तथा उक्त लागत अनुमानलाई कानुन विपरीत बढाई गरिएको सम्झौतामा समेत Consultant (International and Domestic as required) to be appointed by the CAAN for the supervision and monitoring the Contractor’s Design, Drawings and Construction works as specified भनी स्पष्ट उल्लेख भएको जानकारी हुँदाहुँदै विमानस्थल निर्माण आयोजनाको Consultant लार्इ भुक्तानी गर्ने रकम नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पुन: बजेट छुट्याउने भन्ने विषय प्रथम दृष्टिमै दुराशयपूर्ण, गैरकानुनी लाभ, मिलेमतो, साँठगाँठका योजना सहित बदनियतपूर्ण तवरले नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पत्ति दुरुपयोग गर्ने गराउने नियत रहेको प्रष्टै देखिएको।
- आयोजनाको लागतमा नै Consultant लार्इ दिने पारिश्रमिक लगायतको खर्च वापत मू.अ.करबाहेक अमेरिकी डलर २८,००,०००/- (रू.२१,००,००,०००/-) छुट्याएको अवस्थामा उक्त रकमबाट उल्लिखित कार्य नगरी नेपाल सरकार/नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गराउने उद्देश्यले प्राधिकरणको छुट्टै आन्तरिक बजेटबाट खर्च गर्नेगरी वहुवर्षीय कार्यक्रमको रूपमा अस्वाभाविक लागत अनुमान रू.५०,३४,४०,६९६।–(मू.अ.कर र कन्टिजेन्सीसहित) अर्थात् ४७,४२,२८२.३७ अमेरिकी डलर तयार गरी परामर्श सेवा खरिदको लागि प्रक्रिया अगाडि बढाएको कार्य जानी बुझी गैरकानुनी लाभ लिने दिने उद्देश्यले भए गरेको देखिएको। यसरी ऋण सम्झौताको दायित्व कायम रहने कुरा जानी जानी उही शीर्षक र प्रयोजनमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पत्ति खर्च गरी हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने गराउने नियतले गरे गराएको प्रष्टै देखिएको ।
- प्राधिकरणको आन्तरिक बजेटबाट खर्च गर्नेगरी तयार गरिएको लागत अनुमान रू.५०,३४,४०,६९६।–(मू.अ.कर र कन्टिजेन्सी सहित) मा समेत प्रोभिजनल सम (Provisional Sum) को लागि भनी अत्यधिक बढी रकम करिब ४५ प्रतिशत अर्थात् रू.१९,५२,००,०००।–(उन्नाइस करोड बाउन्न लाख रूपैयाँ) रकम बद्नियतपूर्वक राखी उक्त प्रोभिजनल सम (Provisional Sum) मा भएको रकमलाई आयोजना निर्देशक प्रदीप अधिकारीलेनै आफूखुशी कार्य गराउने र खर्च समेत गर्नेगरी कानुन विपरीतको स्वविवेकीय अख्तियारी लिए/दिएको देखिएको। यसरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी पुर्यार्इ राष्ट्रसेवक र गैरराष्ट्रसेवक व्यक्तिहरूको मिलेमतोमा गैरकानुनी लाभ लिने दिने उद्देश्यले यस प्रकारका काम कारवाही सुरूदेखिनै बदनियतपूर्ण तवरले अगाडि बढाएको देखिएको।
- China Exim Bank को ऋण सहयोगबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. बीच भएको Contract Agreement को Item No.1.2 मा समावेश Defined Provisional Sum को बजेटबाटै परामर्शदाता नियुक्त गर्नुपर्नेमा सो नगरी तथा उक्त आइटममा छुट्याएको रकम ऋण दायित्वबाट समेत नघटार्इ, सोही कार्यको लागि प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने कुरा जानी बुझी बद्नियतपूर्वक प्राधिकरणको छुट्टै बजेट खर्च गरे/गराएको।
- बिमानस्थल निर्माण सम्बन्धी खरिद सम्झौतामा उल्लिखित Scope भित्र रही परामर्शदाता सेवा लिन Price Schedule को Item No.1.2 मा राखिएको रकमबाट बद्नियतपूर्वक परामर्श सेवा नलिई सम्झौता विपरीत मेशिन/उपकरण खरिद गर्न नमिल्ने सामान्य समझका विषय समेतको राष्ट्रसेवकहरूले ख्याल नगरी बद्नियतपूर्वक सरकारी सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्नकै लागि मेशिन/उपकरण खरिद गरे गराएको देखिएको।
- Loan Agreement को Effectiveness पश्चात मात्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. बिच २२ मे २०१४ मा Contract Agreement भएको कागजातबाट देखिएको। नेपाल सरकार र China Exim Bank बिच २१ मार्च २०१६ मा भएको Loan Agreement ३१ मे २०१७ देखि मात्र आयोजना Effective भएको तर सोही ऋण सहयोगबाट निर्माण हुने आयोजना सुपरिवेक्षणको लागि Contract Agreement भित्रैबाट Consultant नियुक्ति गर्नुपर्ने कार्यलाई प्राधिकरणको छुट्टै बजेट खर्च गर्ने भनी Loan र आयोजना Effective नहुँदै मिति २०७३/०५/२२ (सेप्टेम्बर ७, २०१६) मा पहिले देखि नै Consultant नियुक्ति प्रक्रिया अगाडि बढाउने गरी सार्वजनिक सूचना जारी गर्नुले कसुरमा संलग्न राष्ट्रसेवकहरूको नियत, कार्यशैली, गतिविधि सम्पूर्ण रूपमै चरम बदनियतपूर्ण रहेको प्रष्टै देखिएको।
- Commercial Contract Agreement मा उल्लेख भएका बजेट शीर्षक मध्ये आयोजनाको Consultant शीर्षकको बजेट Consultant का लागि खर्च नहुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त शीर्षक/कार्यको लागि छुट्टिएको रकम समेत समावेश भएको ऋण लिनैपर्ने विषयको थप अध्ययन नभएको, त्यसको औचित्य र ऋण दायित्वको आवश्यकता पुष्टि हुने कुनै वस्तुपरक आधार कारण र निर्णय नदेखिएको/नभएको कुरा जान्दा जान्दै गैरकानुनी लाभकै लागि जेसुकै तवरले जो कोही शीर्षक/कार्यमा भएपनि खर्च गरी ऋण दायित्व बढ्ने बढाउने गरी बदनियतपूर्ण तवरले राष्ट्रसेवकहरूले काम कारवाही अगाडि बढाएको देखिएको।
- Commercial Contract Agreement मा परामर्शदाता नियुक्तिको लागि रहेको अमेरिकी डलर २८,००,०००/- बजेटलाई के कसरी समायोजन गर्ने भन्ने सम्बन्धमा स्पष्ट उल्लेख नगरी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक बजेटको समेत सुनिश्चितता नभएको अवस्थामा प्राधिकरणको आन्तरिक बजेटबाट खर्च गर्नेगरी तयार गरिएको लागत अनुमान रू.५०,३४,४०,६९६।–(मू.अ.कर र कन्टिजेन्सी सहित) प्रथम दृष्टिमै अस्वाभाविक देखिएको। यसरी अस्वाभाविक रूपमा बढी कायम गरिएको लागत अनुमान स्वीकृत गरी गराई खर्च गर्नेगरी परामर्शदाता नियुक्तिको लागि आशयपत्र समेत माग गरिसकेपछि मात्र प्राधिकरण संचालक समितिबाट बजेट छुट्याएको सम्म देखिँदा अधिक ठूलो बजेटका विषयमा गंभिरतापूर्वक प्राधिकरण संचालक समितिमा छलफल नगरी नगराई बद्नियतपूर्वक गैरकानुनी लाभकै लागि आफ्नै तजविजमा वार्षिक बजेटमा परामर्श सेवाको लागि बजेट छुट्याई सोको कार्यबाहीको निरन्तरताबाट परामर्शदातासँग रू.४२,८९,३६,७००.०० मा सम्झौता गरेको देखिएको।
- बिमानस्थल निर्माण सम्बन्धी EPC मोडालिटीको सम्झौताबमोजिम सम्झौता भित्रको परामर्शदाता नियुक्ति गर्ने कार्य जानी बुझी नगराउने, सम्झौता बमोजिमको कार्यको लागि प्राधिकरणको अलग बजेट खर्च गर्ने, बजेट स्वीकृत/व्यवस्थापन नहुँदै परामर्श सेवा खरिदको लागि आशयपत्र माग गर्ने लगायतका राष्ट्रसेवकका काम कारवाही सुरूदेखिनै जानी बुझी गैरकानुनी लाभका लागि सार्वजनिक खरिद नियमावली, 2064 को नियम (६) को उपनियम (२) को देखादेखि उल्लंघन एवं कानुन विपरीतका गतिविधि गरे भएको देखिँदा उक्त कार्य स्वयंमा बदनियतपूर्ण देखिएको।
- सार्वजनिक खरिद नियमावली, 2064 को नियम ४० को उपनियम (२क) मा उल्लेख भए अनुसार अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा परामर्शदाताको योग्यताका आधारमा मूल्य अभिवृद्घि कर दर्ता प्रमाणपत्र र स्थायी लेखा दर्ता नम्बर (प्यान) प्रमाणपत्र र कर चुक्ता प्रमाण पत्र आवश्यक नपर्ने भनी उल्लेख भएतापनि उक्त कागजातहरूलाई अनिवार्य गरी तथा सार्वजनिक खरिद नियमावली, 2064 को नियम ७० को उपनियम (२) बमोजिम तीन करोड भन्दा बढीको लागि अन्तर्राष्ट्रियस्तरको आशयपत्र माग गर्नु पर्नेमा सोको विपरीत हुने गरी प्रतिस्पर्धा सीमित गराउने बद्नियतले आशयपत्र माग गरेको स्पष्टै देखिएको।
- परामर्श सेवाको लागि मू.अ.करसहित रू.४२,८९,३६,७००।- अर्थात् मू.अ.करबाहेक रू.३७,९५,९०,०००।- मा सम्झौता हुँदा समेत अत्यधिक बढी ५१.४२ प्रतिशत अर्थात् रू.१९,५२,००,०००।–(उन्नाइस करोड बाउन्न लाख रूपैयाँ) रकम प्रोभिजनल सम (Provisional Sum) मा राखेको र उक्त रकम खर्च गर्ने अख्तियारी आयोजना निर्देशकलाई दिएको देखिँदा यस्तो कार्यले प्राधिकरणको सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गराउने सुरूदेखिकै योजना मुताबिक बदनियतपूर्ण तवरले उक्त अधिक प्रोभिजनल समको व्यवस्था गरेको तथ्यबाट राष्ट्रसेवक प्रतिवादीहरूको बदनियतलाई अझै थप पुष्ट्याईँ गरेको देखिएको।
- विमानस्थल निर्माण सम्झौतामा परामर्श सेवाको लागि Defined Provisional Sum को रूपमा राखिएको २८,००,०००.00 अमेरिकी डलर उक्त कार्यमा आवश्यक नरहेको भनी BoQ Update/Revised गरी उक्त शीर्षकमा १०,०००.00 अमेरिकी डलर मात्र राखी बाँकि २७,९०,०००.00 अमेरिकी डलर सम्झौता विपरीत हुनेगरी सामान/मेसिनमा बद्नियतपूर्वक खर्च गरे/गराएको देखिएको। यसबाट खरिद सम्झौतामा रहेको “जुन कार्यको लागि प्रोभिजनल सममा रकम छुट्याइएको छ, सोही कार्यको लागि मात्र खर्च गर्नुपर्ने” भन्ने प्रावधानको विपरीत बद्नियतसाथ आफुखुशी अन्य शीर्षकमा लगी खर्च गरे/गराएको देखिँदा निर्माण व्यवसायी र राष्ट्रसेवक प्रतिवादीहरूको गैरकानुनी स्वार्थको उद्देश्यबाट भए गरेको अझै स्पष्ट हुन्छ।
- Provisional Sum सम्बद्ध work, supplies or services को लागि मात्र उक्त रकम खर्च गर्नुपर्ने, यस्तो खर्च Employer’s instructions मा पूर्ण वा आंशिक खर्च हुने वा खर्च नै नहुने र खर्च भएको रकम (वा खर्च नभएको रकम) Contract Price मा adjust गर्नुपर्ने भनी सम्झौताले नै Provisional Sums को कार्यविधि स्पष्ट गरेकोमा सो सम्झौता विपरीत हुनेगरी Provisional Sum सँग सम्बन्ध नै नभएका मेशिन/उपकरण खरिदमा खर्च गरे/गराएको देखिँदा राष्ट्रसेवक प्रतिवादीहरू समेतले निहित स्वार्थ पूरा गर्ने उद्देश्यले एक आपसको मिलेमतोमा यसरी खर्च गरेको देखिएको।
- परामर्श सेवा खरिदको लागि स्वीकृत गरेको लागत अनुमान रू.५०,३४,४०,६९६।–मा PS for Additional Specific Experts as and when Required by Employer को ToR तयार नगरी तथा सोमा राखिएको रू.१९,५२,००,०००।–रकमको मूल्याङ्कनको क्रममा नआउने गरी सार्वजनिक खरिद ऐन, २०६४ र सोही ऐन अन्तर्गतको सार्वजनिक खरिद नियमावली, 2064 को उद्देश्य र कानूनी व्यवस्थाको देखादेखि विपरीत हुने गरी प्रतिस्पर्धा सीमित गरार्इ बदनियतपूर्ण तवरले आशयपत्र माग गरेको प्रष्टै देखिएको। परामर्श सेवा खरिदमा संलग्न राष्ट्रसेवकका यस प्रकारका काम कारवाहीले निजहरूको बदनियतपूर्ण कार्यलार्इ अझै प्रष्ट्याएको देखिएको।
- परामर्श सेवा खरिद कार्यको प्रोभिजनल सममा भएको रकमको ल.ई., प्रस्ताव माग, स्वीकृति लगायत सम्पूर्ण प्रक्रियाको काम कारवाही आयोजनाका आयोजना निर्देशक प्रदीप अधिकारीबाटै हुन आवश्यक निर्णय/अख्तियारीको व्यवस्था हुन भनी निर्देशित तवरले टिप्पणी पेस भएको देखिएको, त्यसरी निर्देशित टिप्पणी पेस गर्न भएको आदेशमा अन्य राष्ट्रसेवक समेतको गैरकानुनी स्वार्थ पूरा गर्न तयार भर्इ सोही अनुसार निर्णय भएको देखिएको। यसरी आपसी मिलेमतोमा भएको निर्णय समेत पालना भएको देखिदैन। उल्लिखित आफूहरू स्वयंले गरेको निर्णय समेतको पालन नगरी उल्लिखित खरिद कार्य गर्दा माथि उल्लिखित आफ्नै निर्णयमा लेखिएका कुनै प्रक्रिया समेत पूरा नगरी जानीबुझी गैरकानुनी स्वार्थसिद्ध गर्न बदनियतपूर्ण उद्देश्यले आयोजना निर्देशकको तजबिजीमा खर्च गरेको देखिएको।
- परामर्श सेवा खरिद कार्यको प्रोभिजनल सममा भएको रकम Specific Experts को लागि छुट्टयाइएको भएतापनि जसरी पनि बजेट खर्च गर्ने मनसायले National Consultants को लागि जुन विधामा जनशक्ति आवश्यक भनी परामर्शको RFP मूल्याङ्कन भएको छ फेरी सोही जनशक्ति PS बाट समेत जानी बुझी दोहोरो खर्च गरे/गराएको देखिँदा बद्नियतपूर्वक अनावश्यक खर्च गरे/गराएको देखिएको।
- आपसी मिलेमतो र योजनामा लागत बृद्धि अनुसार भएको Commercial Contract Agreement को Part II Section III Schedule of Payments को बुँदा नं. 1.4 मा उल्लिखित “The Contract Price shall be fixed as specified in the Price Schedule. If quantity or other aspect of any item in the Price Schedule is revised during detail engineering design and approved by the Employer, the price of the item shall be unchanged and payment shall be made according to this Schedule” विपरीत हुनेगरी निर्माण व्यवसायी र राष्ट्रसेवकहरूको एक आपसको मिलेमतोमा बद्नियतपूर्वक आफुखुशी आइटमहरूको मूल्य बढाएको देखिएको।
- China Exim Bank को ऋणबाट EPC मोडालिटीमा निर्माण गरिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको Detail Design/Drawings समेत अध्ययन गरी हेर्दा सिभिल कार्यमात्र स्वीकृत भएको, स्वीकृत कार्यमा सो Mandatory Items मा नै पर्ने भएको हुँदा EPC Contract मा सोको परिमाण घट/बढलाई थप कार्य भन्न सकिने देखिदैन र Schedule of Payments को Clause 1.4 बमोजिम समेत थप वा घट कार्यको लागि सो Items मा थप भुक्तानी दिन र Contract Price मा समावेश नभएका Items को समेत थप भुक्तानी गर्न मिल्ने देखिदैन। तर निर्माण व्यवसायीसँगको मिलेमतोमा निर्माण व्यवसायीको प्रस्तावमा सहमति जनाई परामर्शदाता तथा PRIAP, राष्ट्रिय गौरव आयोजना तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट Scope भित्रको र Total Contract Price मा नसमेटिएका Items को समेत परिमाण अनुसार Bill of Quantities (BoQ) Model को Contract मा गरिने जस्तो हिसाब गरी BoQ Updated गरेको कार्य Bidding Document, Contract Provisions, EPC Model को सैद्धान्तिक परिभाषा र Defined Provisional Sum Items को खर्च सम्बन्धी Bidding Documents, Contracts Provisions तथा Standard FIDIC Documents को विपरीत देखिदा देखिदै राष्ट्रसेवक र निर्माण व्यवसायी China CAMC Engineering Co. Ltd. बिचको मिलेमतोमा देखादेखि गैरकानुनी स्वार्थका लागि बदनियतपूर्ण तवरले उक्त कार्य कसुर गरेको देखिएको।
- Modified/Updated Price Schedule मा नयाँ Items जस्तै Electronic Flight Strips, MM body Wave Scanner, Peripheral Security System, HVAC System, Waste Transfer Vehicle, Passenger Boarding Bridge को सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यसका निकायबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको स्वीकृत Detail Design/Drawings मा समेत सो कुरा कहि कतै उल्लेख नभएको र आवश्यक पनि नरहेकोमा China Exim Bank बाट परामर्शदाताका लागि छुट्यार्इएको ऋण रकम प्राप्त गर्न सकिने देखि नियोक्ता समेतले सो ऋण रकम राष्ट्रसेवक समेतको मिलेमतोमा जसरी पनि खर्च गर्ने दुषित मनसायले PS Items को रकमलाई हटाई Defined PS Items को कार्य (Item No. 1.2 Consultants to be appointed as required by CAAN) समेत प्राधिकरणको छुट्टै बजेटबाट गरेको छ। Pokhara Regional International Airport Fully Fledged बनाउनुपर्ने भनी EPC Contract गर्ने निर्माण व्यवसायीकै दायित्वमा रहेका कार्यको तथा आयोजनाको Detail Engineering Design/Drawings बाट समेत आवश्यकता महशुस नभएका अन्य कार्यहरूको क्रमशः थप दायित्व जानी बुझी सिर्जना गराएको र बद्नियतपूर्वक नेपाल सरकार सार्वजनिक संस्थाको सम्पत्ति अनावश्यक खर्च गरे/गराएको देखिएको।
- Revised/Updated Price Schedule तयार एवं स्वीकृत गर्दा Detail Engineering Design बाट घटेका Itemwise Quantity लाई नघटाई Original Price Schedule कै Quantity अनुसारको रकम कायम गरेको र Detail Engineering Design बाट बढेका Itemwise Quantity लाई प्रति इकाइ दरले गणना गरी गरिएबमोजिम रकम कायम गरेको देखिँदा यसरी दोहोरो मापदण्ड अपनाई तयार/स्वीकृत गरेको Revised/Updated Price Schedule नै Contract Agreement विपरीत रहेको छ। यसले Revised/Updated Price Schedule तयार/स्वीकृत गर्ने प्रक्रियामा संलग्न निर्माण व्यवसायी र प्राधिकरणका राष्ट्रसेवकहरूको बद्नियतलाई थप प्रष्ट गरेको छ।
- Commercial Contract Agreement को सुरूको BoQ को Item No. 2.1.4, 2.1.5, 2.3.1, 2.5.3 लगायतमा घटेको Quantity लाई Revise/Update नगरी Revised/Updated Price Schedule तयार/स्वीकृत गरेको अनुसन्धानबाट सङ्कलित सवूद प्रमाण एवं तथ्यबाट समेत निर्माण व्यवसायी (Contractor) र नियोक्ता (Employer) तर्फका राष्ट्रसेवक प्रतिनिधिहरूको नियत एक आपसमा मिलेमतो गरी आफूहरूको गैरकानुनी स्वार्थ पूरा गर्न जसरी पनि सरकारी सम्पत्तिको हानिनोक्सानी गराउने बदनियतपूर्ण उद्देश्य रहेको देखिएको।
- Engineering, Procurement and Construction (EPC) Model बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि बोलपत्र आह्वान भएको, सम्झौतामा उल्लिखित परियोजना लागत (Project cost) बढाउन नमिल्ने (Fixed Price) भन्ने सर्त समावेश गरी सोही Model बाट विमानस्थल निर्माण गर्न खरिद सम्झौता भएको र परियोजनाको लागि आवश्यक पर्ने Supervision Consultant को नियुक्ति समेत सोही सम्झौतामा रहेको रकमबाट गर्नुपर्ने स्पष्ट प्राबधान हुँदाहुँदै Construction Contractor लाई परियोजना लागत बराबरको रकम पुरै भुक्तानी गर्ने र सोही परियोजना लागतमा समावेश Supervision Consultant को नियुक्तिमा भने प्राधिकरणको छुट्टै बजेट खर्च गरेको देखिएको। यसरी EPC Contract को मान्यता, खरिद सम्झौता र कानुन विपरीत हुनेगरी बद्नियतपूर्वक परियोजना लागत बढाई निर्माण व्यवसायी लगायतलाई लाभ पुर्याउने र नेपाल सरकार/सार्वजनिक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने/गराउने बदनियतपूर्ण योजनाको साथ परामर्शदाता नियुक्त गरेको तथ्य अनुसन्धानका क्रममा सङ्कलित सवूद प्रमाणबाट स्थापित भएको देखिएको।
- Updated Price Schedule तयार/स्वीकृत गर्दा Detailed Engineering Design बाट Quantity घटेका Items को हकमा ठेकेदारलाई फाइदा हुनेगरी Original Price Schedule मै रहेको Quantity अनुसार मूल्य (Itemwise Lumpsum Fixed Price) गणना गरेको र Detailed Engineering Design बाट Quantity बढेका Items को हकमा पनि ठेकेदारलाई नै फाइदा हुनेगरी त्यसरी बढेको Quantity लाई प्रति इकाइ दरको आधारमा मूल्य (BoQ Model/Itemwise Per Unit Price) गणना गरी राष्ट्रसेवक र गैरराष्ट्रसेवक व्यक्ति एक आपसमा मिलेमतो गरी आफूहरूको गैरकानुनी स्वार्थ पूरा गरी सरकारी सार्वजनिक संस्थाको सम्पत्तिको हानिनोक्सानी गराउने बदनियतपूर्ण उद्देश्य राखी भुक्तानी समेत लिए/दिएको देखिएको।
- यसैगरी Updated Price Schedule तयार/स्वीकृत गर्दा घटेको Quantity लाई Revised/Updated Price Schedule मा नघटाएको तर बढेको Quantity को लागि सम्झौता विपरीत दोहोरो मापदण्डको आधारमा[5] Revised/Updated Price Schedule तयार गरी राष्ट्रसेवक र निर्माण व्यवसायीको स्वार्थ अनुसार Provisional Sum(परामर्शदाता नियुक्तिमा खर्च गर्न तोकिएको) बाट एक आपसी मिलेमतोमा रकमको व्यवस्थापन गरिएको। Provisional Sum मा तोकिएको परामर्शदाता नियुक्ति गर्ने कार्यको लागि भने नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै बजेट रू.४२,८९,३६,७००.०० थप खर्च गरी/गराई नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्ति खर्च भुक्तानी लिर्इ दिर्इ राष्ट्रसेवक र गैरराष्ट्रसेवक व्यक्ति एक आपसमा मिलेमतो गरी आफूहरूको गैरकानुनी स्वार्थ पूरा गरी हानिनोक्सानी गराएको देखिएको।
[1] मिति २०७५/०१/२४ (७ मे २०१८) मा नेपाल राष्ट्र बैंकले तोकेको प्रति अमेरिकी डलरको बिक्री दर रु.१०७।२८ को आधारमा ३१,६४,०००.00 अमेरिकी डलरलाई नेपाली रुपैयामा गणना गरिएको ।
[2] EPC Contract मा छुट्याएको अधिकतम् लागत मूल्य भन्दा रु.१६,४०,०६,७७६।– अर्थात् ४८.३२% ले बढी रहेको।
[3] EPC Contract मा छुट्याएको अधिकतम् लागत मूल्य भन्दा रु.८,९५,०२,७८०।– अर्थात् २६.३९% ले बढी रहेको।
[4]Revised Price Schedule कार्यान्वयन गर्न निर्णय भएको मिति २०७७/०९/०२ (१७ डिसेम्बर २०२०) मा नेपाल राष्ट्र बैंकले तोकेको प्रति अमेरिकी डलरको बिक्री दर रु.११८।०२ को आधारमा ३१,५२,७००.00 अमेरिकी डलरलाई नेपाली रुपैयामा गणना गरिएको।
[5] Original Price Schedule को Itemwise Quantity भन्दा फरक हुनेगरी Detailed Engineering Design बाट निर्धारण (घट/बढ) भएका मध्ये घटेको Quantity लाई Revised/Updated Price Schedule मा Revise/Update नगरेको तर बढेको Quantity लाई चाहिँ Revise/Update गरेको।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया